चर्चित पत्रकार तथा लोकप्रिय युट्युब च्यानल हेर्ने कथाकी सञ्चालिका विद्या चापागाईंले हालैको Gen Z आन्दोलनप्रति तीव्र प्रतिक्रिया जनाउँदै आन्दोलन अब Gen Z मात्रको नभएर सम्पूर्ण नेपालीहरूको आन्दोलन भएको बताएकी छन्।
विद्या चापागाईंले देशभर प्रदर्शनमा उत्रिएका युवामाथि भएको गोली प्रहारलाई “क्रूरता, तुच्छता, कायरता, विवेकहीनता, अपराध र निरंकुशताको विभत्स उदाहरण” ठहर गरेकी छन्। उनका अनुसार, सपना बोकेका युवाहरू सडकमा रगताम्ये ढलेका छन् र यसका लागि सरकार र सत्तामा बसेकालाई जवाफदेही बनाउन आवश्यक छ।
उनी भन्छिन्, “सामाजिक सञ्जाल खुला गरिदिएर र राजीनामा दिएर मात्र दोषी उम्कन पाउनु हुँदैन। मेरो पुस्ता सहेर बसेको थियो, Gen Z पुस्तामा विष्फोट भएको छ। यो युग परिवर्तनको आन्दोलन हो। अब यो आन्दोलन Gen Z को मात्र रहेन। यो मेरो पनि आन्दोलन हो, यो हामी सबैको आन्दोलन हो। यो आन्दोलन रोकिनु हुँदैन।”
विद्या चापागाईंले थप चेतावनी दिँदै भनिन्, “आज डङ–डङ गोली लागेर ढल्नेका सपनाहरूले हामीलाई पोल्नुपर्छ। उनीहरूको रगतले वर्षौंदेखि देशमा घात गर्नेहरूलाई पोल्नुपर्छ।”
उनको अभिव्यक्तिले अहिलेको आन्दोलनप्रति नागरिक र राजनीतिक नेतृत्वबीच ध्यानाकर्षण बढाएको छ र युवा आन्दोलनलाई राष्ट्रिय महत्व दिने आवश्यकता औंल्याएको छ।
