• Saturday 24th of October 2026

राजीनामा दिएर आमहत्याको जिम्मेवारीबाट उम्किन पाइदैन :सोविता गौतम


  • धनकुटा खबर
  • .

प्रिय साथीहरू,

आजको आन्दोलनले एउटा कठोर सत्य उजागर गरिसकेको छ। यो सरकार अब जनताको सरकार होइन । यो सरकार निर्दोष नागरिकहरूको रगतमा हिँड्ने हत्यारा सरकारमा परिणत भएको छ। गृहमन्त्रीको राजीनामा केवल अपराध पखाल्ने नाटक हो। राजीनामा दिएर आजको आमहत्याको जिम्मेवारीबाट उम्किन पाइदैन । आदेश दिने र गोली चलाउने सबैलाई कानूनी दायरामा ल्याउन सक्दा मात्र वास्तविक न्याय हुनेछ ।

आज भएको आन्दोलन कुनै दल विशेष वा नेताले आयोजना गरेको आन्दोलन थिएन। यो आन्दोलन शुद्ध रूपमा हाम्रो नयाँ पुस्ता, Gen Z को सशक्त आन्दोलन थियो। उनीहरूले उठाएको आवाज कुनै दलको एजेन्डा होइन, यो भ्रष्टाचारविरुद्धको आवाज हो, यो स्वतन्त्रतामाथि गरिएको आक्रमणविरुद्धको आवाज हो, यो आम नागरिकको चेतनाको आवाज हो।

तर हामी सबैलाई थाहा छ, नेतृत्वविहीन आन्दोलन लामो समय टिकाउन गाह्रो हुन्छ। Gen Z को उपस्थिती व्यापक थियो तर नेतृत्व कसको हो र कसको कमाण्डमा हिड्ने भन्ने त्यती स्पष्ट थिएन । नेतृत्व नभएको ठाउँमा असंबद्ध तत्व घुस्न सक्छन्, आन्दोलनलाई कमजोर बनाउन सक्छन्, र यसलाई भंग गर्ने खतरा बढ्छ । आजको आन्दोलन पनि स्वतस्फुर्तसँग भयो तर स्पष्ट नेतृत्व र मार्गदर्शन विहिन भएको पनि सत्य हो। आजको आन्दोलनमा अत्याधिक बल प्रयोग पनि भएको छ। निहत्था युवा पुस्ताहरूको गोली हानेर हत्या गरियो । गोली हान्दै गर्दा सिधा छातीमा, टाउकोमा गोली हानीएको छ । UN Basic Principles on the Use of Force and Firearms by Law Enforcement Officials, 1990 अनुसार Tear gas, water cannon, baton, negotiation, arrest जस्ता कम घातक विकल्पहरू प्रयोग नगरी सीधा गोली चलाउनु excessive use of force हो। आज जे भयो त्यो arbitrary killing हो!

Gen Z को आन्दोलन दबाउन सरकारले यो हद सम्म निकृष्ट कर्म गर्छ भन्ने अपेक्षा थिएन तर गर्यो । अब Gen Z लाई millennial ले संरक्षण गर्दै आन्दोलनलाई दिशा दिनुपर्ने आवश्यकता देखिन्छ । यो अनियन्त्रित भएकै कारण आज धेरै GEN Z भाइबहिनीहरूले हामीलाई नेतृत्व लिन आह्वान पनी गर्नुभएकोछ। कतिले बालेन शाहलाई नेतृत्व गर्न आग्रह गरेका छन्। कतिपय साथीहरू स्वयम् सच्चा इच्छाशक्ति लिएर अगाडि आउन तयार छन्। यसको अर्थ नेतृत्व गर्न सक्ने क्षमता भएका विकल्पहरू छन्। तर अहिले सबैभन्दा ठूलो कुरा छुट्टाछुट्टै भएर टुक्रिनु होइन, बरु एउटै मञ्चमा भेला भएर साझा बाटो तय गर्नु हो। यदि हामी टुक्रियौं भने आन्दोलन कमजोर हुन्छ। तर हामी बैकल्पिक शक्तिहरू एक भयौं भने आन्दोलन बलियो हुन्छ।

२०६२/६३ सालको जनआन्दोलन सम्झौँ। सातवटा राजनीतिक शक्ति एउटै मञ्चमा भेला भई जनताको आवाजलाई दिशा दिए र त्यसैको परिणाम स्वरूप इतिहास बदलियो। बदलिएको राजनितिक परिवेशले के दियो, के लुट्यो त्यो समिक्षाको पाटो हो तर सत्ता बदलियो । आज फेरि त्यस्तै ऐतिहासिक घडी आएको छ। आज फेरि सबै वैकल्पिक शक्ति, चेतनशील पुस्ता, र न्यायप्रेमी नागरिकले एउटै मञ्चमा बसेर देशलाई नयाँ बाटो देखाउनुपर्ने समय आएको छ। हाम्रा Gen Z सक्षम छन् तर मार्गदर्शन विना उनीहरू पनी गन्तव्यविहिन हुन सक्छन् । हामी millennial पुस्ताले अभिभाकत्व ग्रहण गर्ने बेला आएको छ, जुटेर जानुपर्ने बेला आएको छ ।

यसैले, आज म सम्पूर्ण वैकल्पिक शक्ति, नागरिक समाज, र नयाँ पुस्ताका युवाहरूलाई एउटै आह्वान गर्न चाहन्छु। अब दोषारोप गर्ने समय छैन, अब हाम्रो पुस्ताको भविष्य जोगाउने समय हो। यदि हामी एक ठाउँमा उभिन सकेनौँ भने भोलि हाम्रो पुस्ता निराश हुनेछ। हामी एकै ठाउँ हुदै गर्दा हाम्रो र हामी पछीका पुस्ताको भविष्य सुरक्षित बनाउन सक्छौँ । नयाँ नेपालको खाका कोर्न अब ठूलो Force चाहिन्छ, जसको लागि हामी जुटेर एक ठाउँमा आउन आवश्यक छ। आज शहिद भएका अबोध भाईबहिनीहरूको सपनालाई जीवन दिनुछ ।

वैकल्पिक शक्तिहरू,
आउनुस, संवाद गरौँ !!

-सोबिता गौतम

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖