• Thursday 22nd of October 2026

अन्तरिम सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भइसकेको छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम सरकारलाई असफल बनाउन योजनाबद्ध प्रयास सुरु भइसकेको बताएका छन्। बिहीबार भिडियो सन्देश जारी गर्दै उनले चुनाव हुन नदिने र मुलुकलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भइरहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन्।

उनका अनुसार, देश र जनताविरुद्धका चालबाजी अझै जारी छन्। “अन्तरिम सरकारलाई असफल बनाउने षड्यन्त्र भइसकेको छ। मुलुकलाई अस्थिरतातर्फ धकेल्न चुनाव हुन नदिने खेल हुन सक्छ,” प्रचण्डले भने।

जेन–जी आन्दोलनको बलमा कांग्रेस–एमाले गठबन्धन सरकार ढलेर बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। प्रचण्डले यो निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए।

उनले लोकतन्त्र, गणतन्त्र र परिवर्तनप्रेमी सबै शक्तिबीच एकताको आवश्यकता औंल्याउँदै भने, “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। युवापुस्ताको चाहनालाई प्रयोग गरेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेका छन्, त्यसैले हामी सबै एकताबद्ध हुनुपर्छ।”

जेन–जी आन्दोलनप्रति आफूहरूले सुरुदेखि समर्थन जनाउँदै आएको स्मरण गर्दै प्रचण्डले संविधान निर्माणको समयमा माओवादीले राखेका फरक मत र आजको आन्दोलनका मागबीच समानता रहेको दाबी गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूहरू त्यतिबेलै उभिएको तर उपेक्षा भएकाले आजको अस्थिरता आएको उनको भनाइ थियो।

विगतका आफ्ना कमी–कमजोरी पनि स्वीकार गर्दै उनले भने, “हामी पनि कहीँ न कहीँ चुकेका छौँ। तर, सच्चिँदै छौँ, अझै सच्चिन्छौँ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖