• Thursday 22nd of October 2026

पोखरामा जेन–जी आन्दोलन, रविको मुद्दा भएको फाँटमै पहिलो आक्रमण


  • धनकुटा खबर
  • .

पोखरा । जेन–जी आन्दोलनको पहिलो दिनै पोखरा अराजकतातर्फ मोडियो। शहीद चोक आसपास निषेधाज्ञा जारी गरिए पनि दिनभर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच लखेटाचौरी चल्यो। दिउँसोतिर भीड नियन्त्रणबाहिर गएपछि सरकारी र निजी संरचनामाथि तोडफोड र आगजनी सुरु भयो।

सबैभन्दा ठूलो क्षति कास्की जिल्ला अदालतले बेहोर्नुपर्‍यो। आन्दोलनकारीले सुरुको निशाना नै अदालतको ३ नम्बर फाँटलाई बनाए जहाँ रास्वपा सभापति रवि लामिछानेको मुद्दाका मिसिल थिए। करिब २ हजार ५०० मुद्दामध्ये आधा जलेको अनुमान गरिएको छ। अदालतमा रहेका ७० हजारभन्दा बढी पुराना फैसला अभिलेख पनि खरानी बनेका छन्।

अदालतभित्र रहेका ५ जना न्यायाधीशका इजलास, सरकारी वकिल कार्यालय र कार्यालय परिसरमा रहेका सवारी साधनसमेत पूर्ण रूपमा नष्ट भए। ‘जहाँ सहकारीलगायतका मुद्दा थिए त्यहीँ सुरुमा आक्रमण भएको हो,’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए।

काठमाडौंमा रवि लामिछाने जेलबाट निस्केपछि पोखरामा उनका समर्थकहरू उत्साहित बनेका थिए। उनीहरूले सडकमा नै ‘अब रविको मुद्दा भएको अदालत फोर्नुपर्छ’ भन्दै नाराबाजी गरेका थिए। बेलुकासम्म अदालत, सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयलगायतका संरचनाहरूमा आगजनी भयो।

स्रेस्तेदार राजन खनालका अनुसार अहिले केही प्रशासनिक काम सुरु भए पनि नियमित पेशी तोक्ने र इजलास चलाउने विषयमा अझै निर्णय हुन बाँकी छ। अधिवक्ताहरूले अभिलेख नष्ट हुनु न्याय प्रणालीकै लागि ठूलो धक्का भएको बताएका छन्।

कास्की जिल्ला अदालतको भवन पोखराको ऐतिहासिक संरचना मानिन्छ। तर पछिल्लो घटनाले कानुनी इतिहास, मिसिल र नजीरहरू समेत हराएका छन्। अधिवक्ता भगवती पहारीले भनिन्, ‘न्याय प्रणालीलाई ठुलै धक्का पुगेको छ, अब नजीरकै आधारमा हेर्ने महत्वपूर्ण फैसला समेत हराएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖