काठमाडौं, ४ असोज। हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरूले नेतृत्वमा आउन नहुने स्पष्ट सन्देश दिएका छन्।
शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा आयोजना भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा गुरुङ र थापाबीच केहीबेर कुराकानी भएको थियो।
शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत गुरुङले सो भेटमा आफूले गगनलाई दिएको सुझाव सार्वजनिक गरेका हुन्। उनले भने, “मैले गगन दाईलाई नि भेटेँ, यस्तो तालले भएन दाई। तपाईंहरूले जे गर्ने हो गर्नुस्, तर अब बुढाहरू यसरी आउन भएन भनेर भनेको छु।”
गुरुङले संविधानकै कारण पुराना नेताहरू जोगिएको उल्लेख गर्दै भने, “तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधानले हो। संविधान फालेको भए राष्ट्रपति पनि जान्थ्यो, स्टेट अभिभावकलेस हुन्थ्यो।”
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि सुदन गुरुङ राष्ट्रिय स्तरमा चर्चामा आएका हुन्। ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बनेको नयाँ सरकार गठन प्रक्रियामा उनी सक्रिय देखिएका थिए।
राष्ट्रपति निवासमै भएको शपथग्रहण कार्यक्रममा गुरुङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।
