काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्न आदेश नदिएको स्पष्ट पारेका छन्।
पत्रकार टीकाराम यात्रीसँगको कुराकानीमा उनले सर्वोच्चले सरकारलाई केवल कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्न भनिएको मात्रै बताएका छन्।
“सर्वोच्च अदालतमा नौ जना न्यायाधीशले दिएको निर्णय सीधा कुरा डटकम प्रकरणमा स्पष्ट छ—कानुन बनाएर नियमन गर भन्नु हो, त्यसबाहेक केही होइन,” उनले प्रष्ट्याए।
उनका अनुसार कानुनमार्फत नियमन गर्नु विश्वभरको सामान्य अभ्यास हो। “कुनै पनि विषयलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्छ भन्ने मात्रै हो, तर सामाजिक सञ्जाल बन्द गर्न भनेको होइन,” राउतको भनाइ छ।
सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने कदम चालेका बेला सर्वोच्चको आदेशलाई आधार बनाएको थियो। तर राउतले त्यसलाई गलत व्याख्या गरिएको बताएका छन्।
“सामाजिक सञ्जाल बन्द गर भनेर हामीले कहिल्यै भनेका छैनौँ। त्यो त अपव्याख्या मात्र होइन, बढाइचढाइ (अतिरञ्जना) हो। सर्वोच्चले बन्द गर्ने आदेश नै दिएको छैन,” उनले प्रष्ट्याए।
