• Thursday 22nd of October 2026

जेनजी आन्दोलनमा देखिएका नकाबधारी को हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पैतालादेखि शिरसम्ममै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् । शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले मुख समेत ढाकेका, कालै टिसर्ट, पाइन्ट र कालै जुत्ता लगाएका ती युवाले सुरक्षाकर्मीले जस्तो बडि प्रोटेक्सन ज्याकेट समेत लगाएको देखिन्छ । वाकिटकी समेत बोकेका ती युवाको तस्वीर अहिले सञ्जालमा भाइरल बनेको छ

अधिकांशले यी युवा को हुन् भन्दै प्रश्न गरिरहेका छन् । केही व्यक्तिले भने घुसपैठ भएको भन्ने यही हो प्रमाण भन्दै तस्वीर सार्वजनिक गरिरहेका छन् ।

वास्तवमा यी युवा को हुन् त ? यो बारे प्रहरीले भने पत्ता लगाइसकेको बताएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ती युवाको पहिचान गरेको छ । यसरी जेनजी आन्दोलनको मैदानमा खटिएका ती युवा हामी नेपाल टिमकै सदस्य रहेको अपराध अनुसन्धान कार्यालय स्रोतले बतायो ।

‘जेनिश महर्जन नाम गरेका युवा रहेको खुलेको छ । ती व्यक्ति हामी नेपाल टिमकै सदस्य रहेछन्,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सार्वजनिक चासो भएर प्रश्न उठेपछि हामीले अनुसन्धान गर्दा यो कुरा पत्ता लाग्यो ।’

प्रहरीले उक्त कुरा बताएपछि यसबारे हामीले हामी नेपाल टिमसँग पनि बुझेका छौं । हामी नेपाल टिमका संयोजक सुदन गुरुङले पनि प्रहरीले भनेजस्तै ती युवा जेनिश गुरुङ रहेको बताए ।

‘उ हाम्रै टिमको २१ वर्षीय जेनिश मजर्हन भन्ने भाइ हो’ गुरुङले अनलाइनखबरसँग भने ।

उनले यो कपडा किन लगाए भन्नेबारे पनि अनलाइनखबरले प्रश्न गरेको थियो । यसमा जाजकरकोट भूकम्पको प्रशंग गुरुङले सुनाए । जाजरकोटमा भूकम्प जाँदा जेनिश पनि उद्दार तथा राहतमा खटिएको उनले बताए ।

त्यतिबेला सेनाले यस्तै प्रकृतिको ड्रेस लगाएर मैदानमा खटिएकाले आफूलाई पनि मन परेको जेनिशले बताएको संयोजक गुरुङ सुनाउँछन् ।

त्यसपछि उक्त ड्रेस किनेर जेनिशले लगाएको उनको भनाइ छ । यो सँगै ती युवाले वाकिटकी पनि बोकेका थिए । उक्त वाकिटकी हामी नेपाल टिमको तीन जनासँग भने बताइएको छ । जेनजी प्रदर्शनका दाैरान एउटा वाकिटकी जेनिश, अर्को मेडिकल टिम र अर्को एम्बेलेन्स वालाले बोकेको हामी नेपाल टिमले बताएको छ ।

जेनजी प्रदर्शनका बेला जेनिशको काम घाइतेलाई उद्दार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्‍याउने जिम्मा रहेको गुरुङ बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖