काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक अब औपचारिक रुपमा लागू हुने भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार, संशोधित ऐनले आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था थप गरेको छ। साथै, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहे पनि नागरिकता लिन सकिने सुविधा प्रदान गरिएको छ।
प्रतिनिधिसभाले गत असार १४ गते र राष्ट्रिय सभाले भदौ ६ गते विधेयक पारित गरेका थिए। राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधिसभामा सन्देशसहित पठाइएपछि सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए।
यस संशोधनले नागरिकता प्राप्त गर्ने प्रक्रियामा थप सुविधा ल्याउने र बालबालिकाको अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। विशेष गरी, आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था लैंगिक समानतामा महत्वपूर्ण कदम मानिएको छ।
