काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाउँदै समयमा आत्मसमिक्षा र सुधार नगरे देश फेरि ठूलो जनविद्रोहमा फस्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले भनेका छन्, “समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र राजनीतिक अपराधहरुको आत्मसमिक्षा गरी सुधार नगरे आगामी वर्षहरूमा आजभन्दा पनि ठूलो आन्दोलन हुने निश्चित छ।”
शर्माले हालको जेन–जी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको आवाजको रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। उनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी सभापति/अध्यक्ष दुई कार्यकालभन्दा बढी हुन नपाउने, संसदमा पनि दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने, प्रत्येक ४ वर्षमा अनिवार्य महाधिवेशन हुने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
त्यस्तै, विदेशमा रहेका नेपाली (एनआरएन) लाई राजनैतिक अधिकारबाहेक अन्य अधिकार सुनिश्चित गर्नुपर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउनुपर्ने र १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा संविधानमै सुनिश्चित गर्नुपर्ने उनले बताएका छन्।
शर्माले चेतावनी दिँदै भनेका छन्, “यस पटक नेताहरु कुटिए मात्र, तर भविष्यमा परिस्थितिले नियन्त्रण गुमाए नेताहरु खोजी–खोजी मारिने अवस्था आउन सक्छ। आफ्नै घरमा पनि सुरक्षित हुने ग्यारेन्टी नहुने खतरा छ।”
राजनीतिक विचारसँगै उनले सामाजिक तथा मानवीय कामलाई निरन्तरता दिएका छन्। प्रतिनिधि सभामा सांसद हुँदा तलब–भत्ता नलिने एक मात्र व्यक्तित्वका रूपमा चिनिने शर्माले हाल पनि घाइतेहरूको उपचारमा सहयोग गरिरहेका छन्। उनले देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् र उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं तथा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराइदिन्छन्।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका उनले देशभर सात वटा स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।
शर्माका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएको जनाइएको छ।
