काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा जलेका नोट र खरानी संकलन गरेर अनुसन्धान अघि बढाएको छ। २४ भदौमा ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनी भएपछि दुवै घरमा नेपाली र विदेशी मुद्रा जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
विभागले घटनास्थलबाट नमुना संकलन गरी फरेन्सिक परीक्षण गर्ने तयारी गरेको छ। सक्कली नोट भएको पुष्टि भए सम्पत्ति शुद्धीकरण ऐनअनुसार छानबिन हुने विभागले जनाएको छ।
त्यसैगरी विभागले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि अवलोकन गर्ने तयारी गरेको छ। हाल दाहाल अन्यत्र बस्दै आएका छन् भने निवासमा प्रहरी परिचालन गरिएको छ।
देउवाको सचिवालयले भने सामाजिक सञ्जालमा देखाइएका ‘जलेको पैसा’ सम्बन्धी दृश्यलाई भ्रामक, अतिरञ्जित र बदनाम गर्ने उद्देश्यले फैलाइएको दाबी गरेको छ।
