काठमाडौँ – असफल राजनीतिक नेतृत्व पतन भएपछि बनेको नयाँ अन्तरिम सरकारसँगै जेनजी कर्मचारीहरूले पनि प्रशासनिक नेतृत्व परिवर्तनको माग उठाएका छन्।
सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, संसदका महासचिव पद्यप्रसाद पाण्डेसहितका उच्च तहका कर्मचारीलाई तत्काल बर्खास्त गर्न आह्वान गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “राजनीतिक तथा प्रशासनिक नेतृत्वकै कारण अहिलेको असहज परिस्थिति सिर्जना भएको पुष्टि भइसकेको छ। तत्कालीन राजनीतिक नेतृत्व पतन भइसकेको सन्दर्भमा सोही नेतृत्वका मतियारका रूपमा रहेका प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव छैन। त्यसैले मुख्य सचिव, संघीय संसदका महासचिव, गृहसचिव लगायतका जिम्मेवार पदाधिकारीलाई तत्काल बर्खास्त गर्न जोडदार माग गर्दछौं।”
जेनजी आन्दोलनका कारण नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार सडकबाटै विस्थापित भई सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको हो। आउँदो फागुन २१ गते प्रतिनिधि सभा चुनाव गराउने म्याण्डेट पाएको उक्त सरकारसँग सुशासन र संस्थागत सुधारको अपेक्षा गरिएको छ।
