शिक्षामन्त्री बनेलगत्तै महावीर पुनले २४ घण्टा मन्त्रालयमै बस्ने, पकाएर खाने र गार्ड–क्वार्टर नचाहिने घोषणा गरेपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ती घोषणामाथि कडा व्यंग्य गरेका छन्।
सोमबार पदभार ग्रहण गर्दै पुनले मन्त्रालयकै कोठामा बस्ने र खानपान आफैं गर्ने भनाइ सार्वजनिक गरेका थिए। उनले “म जता जान्छु त्यहीं काम गर्छु, त्यहीं बस्छु” भन्दै मन्त्रालयभित्रै खाट, टेबल र किचनको माग गरेका थिए।
तर बस्नेतले सामाजिक सञ्जालमार्फत ती गतिविधिलाई “सस्तो लोकप्रियता देखाउने स्टण्ट” भन्दै प्रहार गरेका छन्। उनले लेखेका छन् – “वैज्ञानिक मन्त्रीज्यू भन्छन् गार्ड सार्ड चाहिँदैन, क्वार्टर पनि चाहिँदैन, मन्त्रालयमै पकाएर खान्छु, त्यहीँ सुत्छु। बहुलट्ठी स्वभावको मान्छेको स्टण्ट र लोकप्रियताको स्वरुप !”
उनको यो टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच तीव्र बहस शुरु भएको छ। केहीले बस्नेतको अभिव्यक्तिलाई पुनको सुधारवादी शैलीमाथि अनावश्यक प्रहार भनेका छन् भने केहीले मन्त्री पुन लोकप्रिय देखिन मात्रै यस्तो स्टाइल अपनाएको प्रतिक्रिया दिएका छन्।
यसअघि पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य दरबन्दी थप्नुपर्ने, परीक्षाको नतिजा तीन महिनाभित्रै सार्वजनिक गर्नुपर्ने लगायतका तीनबुँदे निर्देशन जारी गरेका थिए। तर बस्नेतले यी नीतिगत एजेन्डाभन्दा बढी पुनको बसाइँ–खानाइँ शैलीलाई “नाटक” को रूपमा चित्रण गरेका हुन्।
