फ्र्याङ्क गार्डनर/काठमाडौं, २६ भदौ। दशकौँदेखि अनगिन्ती नेताहरूले भन्दै आएका छन् कि सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकहरूको सुरक्षा गर्नु हो।
११ सेप्टेम्बर २००१ मा अमेरिका स्पष्ट रूपमा यस कार्यमा असफल भयो। गुप्तचर जानकारी उपलब्ध थियो, तर दुःखद कुरा के भने, कसैले पनि समयमै ती सूचनाहरूलाई जोडेर सही निष्कर्ष निकाल्न सकेनन्, परिणाम ९/११ घटना घटयाे ।
अमेरिकामा भएका ती आक्रमणहरू, जुन ‘९/११’ का रूपमा चिनिए र तिनको जवाफमा चालिएका कदमहरूले यस शताब्दीका सुरुवाती दुई दशकसम्मको विदेश, सुरक्षा र गुप्तचर नीतिलाई नै परिभाषित गर्न लागेका थिए ।
११ सेप्टेम्बर २००१ मा, जब अल-कायदाका आत्मघाती पाइलटहरूले अपहरण गरिएका विमानहरू वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काए, म मध्य-पूर्वस्थित हाम्रो कार्यालय (ब्युरो) मा आफ्नो जिम्मेवारी पूरा गरेर फर्किँदै थिएँ। एक प्यालेस्टिनी ट्याक्सी चालकले मलाई जेरुसेलमको पश्चिममा पर्ने सल्लाका रूखहरूले ढाकिएका पहाडहरू हुँदै तेल अभिभको बेन गुरियन विमानस्थलतर्फ लैजाँदै गर्दा अचानक गाडीको रेडियोको आवाज बढाए।
उनले भने, “अमेरिकामा ठूलो घटना भएको छ।” उनको भनाइ अतिशयोक्तिपूर्ण थिएन; त्यस दिन २,९७७ जनाले ज्यान गुमाए।
ती आक्रमणहरू अचानक वा बिनाकारण भएका थिएनन्। सन् २००१ भन्दा धेरै वर्ष अघिदेखि नै सीआईएलाई अल-कायदा सञ्जाल र त्यसका निर्वासित साउदी नेता ओसामा बिन लादेनबारे जानकारी थियो। उनलाई पक्राउ गर्न वा समाप्त पार्नका लागि एउटा विशेष कार्यदलसमेत गठन गरिएको थियो।
११ सेप्टेम्बरको आक्रमण भएको नौ दिनपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले “आतंकवाद विरुद्धको युद्ध” को घोषणा गरे।
त्यसपछिका २५ वर्षहरूमा एट्लान्टिकका दुवै किनारमा गुप्तचरसम्बन्धी अनेकौं सफलता र असफलताहरू देखिएका छन्। सफलताहरूमा विफल पारिएका षड्यन्त्रहरू तथा पक्राउ परी अदालतमा पेस गरिएका, दोषी ठहरिएका र जेल सजाय पाएका संदिग्ध व्यक्तिहरू समावेश छन्।
तर समग्र परिदृश्य कस्तो छ? अमेरिकी इतिहासकै सबैभन्दा भीषण आतंकवादी हमलापछिको २५ वर्षमा गुप्तचर संकलन, आतंकवाद-विरोधी प्रयास र रणनीतिक योजना निर्माणमा कस्तो परिवर्तन आएको छ?
‘९/११’ को घटना अमेरिकी गुप्तचर निकायको लागि एउटा विशाल असफलता, वा अझ स्पष्ट रूपमा भन्नुपर्दा, ‘कल्पनाशीलताको अभाव’ (सोचको दायरा फराकिलो नहुनु) को असफलता थियो भन्ने कुरामा कसैले शंका गर्न सक्दैन। त्यस समयमा सीआईए र एफबीआई दुवैसँग यस्ता सूचनाहरू थिए, जसलाई सही ढंगले आदानप्रदान गरिएको भए उक्त घटनालाई रोक्न सकिन्थ्यो।
त्यसपछि आएको ‘९/११ आयोगको प्रतिवेदन’ ले अमेरिकी सरकारलाई “कल्पनाशीलता, नीति, क्षमता र व्यवस्थापनमा भएको असफलता” का लागि दोषी ठहर्यायो। प्रतिवेदनको निष्कर्ष अनुसार सीआईए र एफबीआई गुप्तचर जानकारीको सही मूल्यांकन गर्न, एक-आपसमा सूचना साटासाट गर्न र षड्यन्त्रलाई विफल पार्न पर्याप्त कदम चाल्न असफल भए।
यो आधारभूत पाठ त्यसयता धेरै हदसम्म, पूर्ण रूपमा नभए पनि, सिकिएको छ र सन् २००१ को तुलनामा पश्चिमी गुप्तचर निकायहरूबीच सूचना आदानप्रदानको अवस्था निकै राम्रो भएको छ। उदाहरणका लागि, बेलायती एमआई-५ र प्रहरीको आतंकवाद-विरोधी एकाइबीचको पुरानो प्रतिस्पर्धा समाप्त भएको छ; सुरुमा बेलायतभरि छरिएर रहेका क्षेत्रीय ‘फ्युजन सेन्टर’ (एकीकृत केन्द्र) हरू र हालै लन्डनमा स्थापना गरिएको उच्च-सुरक्षासहितको ‘आतंकवाद-विरोधी सञ्चालन केन्द्र’ मार्फत यो सम्भव भएको हो।
यहाँ एमआई-५ का गुप्तचर अधिकारीहरू ती प्रहरी अधिकारीहरूसँगै बसेर काम गर्न सक्छन्, जसको जिम्मेवारी आतंकवादी षड्यन्त्र रोक्न निर्णायक कदम चाल्नु हो। त्यसैगरी, उनीहरू एफबीआईका अमेरिकी संघीय एजेन्ट वा जीसीएचक्यूबाट खटाइएको भाषा विशेषज्ञसँगै बसेको अवस्था पनि हुन सक्छ।
९/११ पछि, अमेरिकी गुप्तचर संरचनामा आमूल परिवर्तन गरिएको छ। यसअन्तर्गत वासिङ्टन डीसीको बाहिरी भागमा ‘राष्ट्रिय आतंकवाद-विरोधी केन्द्र’ को स्थापना र १८ वटा छुट्टाछुट्टै अमेरिकी गुप्तचर निकायहरूबीच आवश्यक सूचना आदानप्रदान सुनिश्चित गर्न ‘राष्ट्रिय गुप्तचर निर्देशक’को पद सिर्जना गरिएको छ। सीआईए र यसको बेलायती समकक्षी निकाय ‘सिक्रेट इन्टेलिजेन्स सर्भिस’ (जो एमआई-६ नामले बढी चिनिन्छ) बीचको सम्बन्ध सायद विश्वमै सबैभन्दा घनिष्ठ छ। यसलाई ‘फाइभ आइज’ गठबन्धनले अझ बलियो बनाएको छ, जसले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डबीच गुप्तचर जानकारीको साझा प्रयोग गर्दछ।
तैपनि, ‘ट्विन टावर्स’ मा विमान ठोक्किएयता पनि गुप्तचर संकलन, मूल्यांकन र रणनीतिक योजना निर्माणमा विनाशकारी असफलताहरू देखिएका छन्। सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमा भएको आक्रमणको पूर्वसन्ध्यामा, एमआई-६ ले अविवेकी ढंगले आफ्ना गुप्तचर जानकारीलाई राजनीतिकरण हुन दियो। यसका कारण संस्थाले आफ्नो प्रतिष्ठामा ठूलो धक्का व्यहोर्नुपर्यो; सन् १९५० र ६० को दशकमा ‘डबल एजेन्ट’ अर्थात दोहोरो जासुस किम फिल्बी र सोभियत संघका अन्य जासुसहरूद्वारा भएको धोकाधडीपछिको यो सबैभन्दा खराब अवस्था थियो।
राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा रहेको इराकमा अझै पनि ‘आम विनाशकारी हतियार’ रहेको प्रमाण पेश गर्न वासिङ्टनबाट परेको अत्यधिक राजनीतिक दबाबका बीच, एमआई-६ ले प्रधानमन्त्री टोनी ब्लेयरको सरकारलाई यस्तो गुप्तचर जानकारी उपलब्ध गरायो, जुन पछि त्रुटिपूर्ण साबित भयो। विगतमा इराकमा वास्तवमै यस्ता हतियारहरू थिए तर सन् १९९१ को खाडी युद्धपछि ती सबै नष्ट गरिएका थिए।
सन् २००३ मा इराकमा भएको आक्रमणपछि, एमआई-६ ले फिल्डमा खटिएका एजेन्टहरूबाट प्राप्त हुने कच्चा गुप्तचर जानकारी (जसलाई सिएक्स भनिन्छ) को मूल्याङ्कन गर्ने तरिकामा आमूल परिवर्तन गर्यो। आज ‘एजेन्ट रनर’ अर्थात एजेन्टहरूलाई परिचालन गर्ने व्यक्ति र ‘रिपोर्टिङ टोली’ बीच स्पष्ट विभाजन छ; एजेन्ट रनरहरूको काम इरान, उत्तर कोरिया वा अल-कायदाजस्ता प्रतिबन्धित आतंकवादी समूहभित्रका स्रोतहरूबाट जानकारी सङ्कलन गर्नु हो भने रिपोर्टिङ टोलीको काम उक्त जानकारीको जाँच र आलोचनात्मक विश्लेषण गर्नु हो, जसमा प्रायः थप प्रमाण वा पुष्टि माग्दै जानकारी फिर्ता पठाउने गरिन्छ।
यी परिवर्तनहरूका बाबजुद, ९/११ पछि पनि केही पाठहरू सिकिएनन्। इराकमा डिभिजनल कमाण्डरका रूपमा सेवा गरेका जनरल सर रिचर्ड शिरिफ भन्छन्, “सन् २००३ को इराक युद्ध गम्भीर रूपमा त्रुटिपूर्ण गुप्तचर जानकारीमा आधारित थियो। के हामीले यसबाट पाठ सिक्यौं त ? छैन, मलाई लाग्छ हामी पाठ सिक्ने मामिलामा कमजोर छौं, एक कमाण्डरका रूपमा यो स्पष्ट थियो कि हामी रणनीतिक असफलतातिर अघि बढिरहेका थियौं।”
इराक आक्रमणपछि पुनः एकपटक छानबिन भयो, जसको नतिजा ‘बटलर समीक्षा’ को रूपमा आयो। यसले निष्कर्ष निकाल्यो कि इराकको कथित आम विनाशकारी हतियार कार्यक्रमसम्बन्धी बेलायतको गुप्तचर जानकारी “गम्भीर रूपमा त्रुटिपूर्ण थियो र धेरै हदसम्म पुष्टि नभएका स्रोतहरूमा निर्भर थियो”।
आतंकवादी योजनाहरू विफल पार्ने क्रममा हासिल भएका अनेकौं निर्विवाद सफलताहरूका बाबजुद सुरक्षा निकाय एमआई-५ ले पनि आफ्नै किसिमका असफलताहरूको सामना गरेको छ। सन् २००७ देखि २०१३ सम्म एमआई-५ को नेतृत्व गरेका लर्ड जोनाथन इभान्स भन्छन्, “९/११ पछि, यस्तो मूल्याङ्कन गरिएको थियो कि बेलायतका लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा भनेको अल-कायदा र त्यससँग सम्बद्ध व्यक्ति तथा समूहहरूबाट उत्पन्न हुने आतंकवादी खतरा नै हो।”
तर, त्यसबेला २०,००० भन्दा बढी ‘चासोका पात्रहरू’ को तथ्याङ्क र एकैसाथ चलिरहेका धेरै अनुसन्धानहरूसँगै, एमआई-५ ले कुन सुराकलाई प्राथमिकता दिने भन्ने दैनिक चुनौतीको सामना गरिरहेको थियो र अझै पनि गरिरहेको छ। यसले सधैं सही निर्णय भने लिन सकेको छैन।
सन् २००५ मा, ५२ जनाको ज्यान लिने गरी लन्डनमा भएका ‘७/७’ आत्मघाती बम विष्फोटहरूलाई रोक्न यो असफल भयो। सुरक्षा निकायलाई मोहम्मद सिदिक खानबारे जानकारी थियो, जो पछि मुख्य योजनाकारका रूपमा देखिए, तर उसलाई खानले के गर्न लागेका थिए भन्नेबारे भने थाहा थिएन। सन् २०१७ को म्यानचेस्टर एरिना बम विष्फोट अर्को हालैको असफलता थियो।
आज आतंकवादको खतरा हटेको छैन, तर लर्ड इभान्स भन्छन्, “परिस्थिति बदलिएको छ। गैर-राज्य पक्षबाट हुने आतंकवाद गम्भीर चिन्ताको विषय बनेकै छ, तर राज्य-प्रायोजित खतराहरू झन् गम्भीर बन्दै गएका छन् र ती राष्ट्रिय सुरक्षाका लागि गैर-राज्य आतंकवाद जत्तिकै गम्भीर चुनौती बनेका छन्। यस्ता खतराहरू रूस, इरान, तिनका सहयोगी समूहहरू र चीनबाट विभिन्न रूपमा आउने गर्छन्।”
यो तर्क पनि गर्न सकिन्छ कि यस वर्ष इरानमाथि आक्रमण गर्न इजरायलसँग सामेल हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय ‘खुफिया अनुमान वा दूरदर्शिता’ को असफलता थियो। खाडी क्षेत्रका अमेरिकाका सबै सहयोगीहरूलाई थाहा थियो कि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेर जवाफी कारबाही गर्ने गम्भीर जोखिम छ। चेतावनीहरू स्पष्ट थिए, तैपनि जब इरानले आफूले धम्की दिएबमोजिम नै कदम चाल्यो, जसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो हलचल मच्चायो, तब ट्रम्पसँग त्यसको सामना गर्ने कुनै ठोस रणनीति नभएको देखियो।
बिबिसीवाट भावानुवाद
