काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खलाको तेस्रो खेलमा क्यानडाले नेपाललाई २ सय ५७ रनको लक्ष्य दिएको छ । शनिबार ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको छ ।
क्यानडाका युवराज समराले १ सय ५ रनको शतकीय पारी खेले । उनले १ सय १७ बलमा ४ छक्का र ११ चौका प्रहार गरे । यस्तै आरोन जॉनसनले ५३ बलमा ३६, हर्ष ठक्कर ५७ बलमा ३४ र कप्तान हमजा तारिकले २६ बलमा ३० रन बनाए ।
नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ र रोहितकुमार पौडेलले १ विकेट लिए ।
यो खेल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले निर्णायक छ । लिग–२ को शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले आजको खेल जिते आफ्नो स्थिति बलियो बनाउनेछ । तर, पराजित भए एकदिवसीय मान्यता जोगाउने अभियानको निर्णय अन्तिम खेलसम्म पुग्नेछ । त्यस अवस्थामा नेपालले सोमबार घरेलु टोली ओमानलाई हराउनुपर्ने हुन्छ ।
