रौतहट । रौतहटको गुजरा नगरपालिका–१ मनर्हवामा दसैँको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमस्थलमा एक पुरुषको शव फेला परेको छ। मृत भेटिएका व्यक्ति ईशनाथ नगरपालिका–५ लक्ष्मिनिया निवासी करिब ३५ वर्षीय जाविर हुसेन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शनिबार राति सांस्कृतिक कार्यक्रम सकिएपछि हुसेन स्टेज अगाडि ब्ल्याङ्केट ओछ्याएर सुतेका थिए। आइतबार बिहान ८ः३० बजे उनी मृत अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि प्रहरी चौकी रंगपुरबाट असई राम जुगुद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर दिनेश थापाको नेतृत्वमा अर्को टोलीसमेत खटिएको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक प्रक्रिया पूरा गरी आइतबार बिहान १०ः५० बजे शव पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जनाएको छ। मृतकसँग रहेको झोलामा पुराना लत्ताकपडा फेला परेका छन्।
हुसेनको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
