काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले विगत २४ घण्टामा देशभर कतै पनि वर्षा रेकर्ड नभएको बताइन् ।
उनका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु लागिरहेको छ। आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
त्यस्तै आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका भूभागमा भने भोलि बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
भोलिदेखि भने पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा मौसम थप सक्रिय हुने देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागमा मध्यम स्तरको वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् निरौलाले जानकारी दिइन्।
यसका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातसँगै असिनासमेत पर्न सक्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागमा मध्यम हिमपातको आँकलन गर्दै विभागले पहेँलो रङको चेतावनी जारी गरेको छ।
मौसममा आउने फेरबदलबारे सतर्क गराउँदै मौसमविद् निरौलाले भनिन्, ‘आजका लागि देशभर कुनै चेतावनी जारी गरिएको छैन, तर भोलिका लागि तीन प्रदेशका हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेकाले पहेँलो सतर्कता अपनाइएको छ।’
उनले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर अद्यावधिक रहन अनुरोध गरिन्। बाँकी भूभागलाई हरियो रङमा राखिएको भए पनि सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ।
यस्तै पर्सिको मौसमबारे उल्लेख गर्दै उनले कोशी प्रदेशको हिमाली र पहाडी भेगका साथै बागमती र गण्डकीको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइन्। मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न उनले सर्वसाधारणलाई आग्रह गरिन्।
