• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

पिकनिक खान गएका यात्रु सवार जिप पल्टियो


  • धनकुटा खबर
  • .

धनगढी। दार्चुलामा पिकनिक खान गएका यात्रु सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार बिहान महाकाली नगरपालिका–९ दत्तुस्थित सकार खेलमैदानमा खलंगाबाट पिकनिक खान गएको सुपप्र ०४–००१ ज ०१२२ नम्बरको जिप घुमाउने क्रममा एक्कासि पल्टिएको प्रहरी प्रमुख डीएसपी गौरव महतले जानकारी दिए। घटनाका बेला जिपमा चालकसहित कुल नौ जना सवार थिए।

दुर्घटनामा महाकाली नगरपालिका–४ विद्ययानगरटोलकी १७ वर्षीया अनु लुहार मध्यम घाइते भएकी छन्। सोही ठाउँका १७ वर्षीया अस्मिता ओड, १५ वर्षीया अनुशा चुनारा, २१ वर्षीया संगीता चुनारा र २५ वर्षीया भुमा चुनारा सामान्य घाइते भएका छन्।

घाइते पाँचै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको छ भने जिपमा सवार अन्य चार जना भने सकुशल रहेका छन्। दुर्घटनापछि जिप चालक महाकाली नगरपालिका–६ पौनेखोलाका ३१ वर्षीय गणेश भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖