पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिवबाट बर्खास्त भएका श्रीधर शर्मा सरकारको निर्णयविरुद्ध पुनः अदालत पुगेका छन् ।
शर्माले शुक्रबार उच्च अदालत पोखरामा उत्प्रेषण परमादेश र अदालतको अवहेलनासम्बन्धी दुईवटा रिट दर्ता गरेका हुन् । उनले आफूलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरी पुनः सदस्यसचिव पदमा बहाली गर्न माग गरेका छन् ।
खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा छानबिन समितिको सिफारिसपछि सरकारले गत कात्तिक १८ गते शर्मालाई पदमुक्त गरेको थियो । उनको स्थानमा मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
यसअघि स्पष्टीकरण सोध्ने सरकारको निर्णयविरुद्ध शर्माले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न मङ्सिर २ गते दुवै पक्षलाई बोलाएको थियो ।
अदालतले माग गरेको निर्णयसम्बन्धी सक्कल कागजात सरकारले पेस नगरेको दाबी गर्दै शर्माले अदालतको अवहेलनासम्बन्धी रिटसमेत दायर गरेका छन् । पछिल्लो रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र नवनियुक्त सदस्यसचिवसहित आठ जनालाई विपक्षी बनाइएको छ ।
