काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ ।
संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने संकेत पाएको भन्दै पार्टी कार्यालयमा रास्वपाले भेला डाकेको हो ।
काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको केन्द्रिय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।
रास्वपाले सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ ।
रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका छन् ।
पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको नेताहरू बताउँन्।
यसअघि ६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो ।
यसअघि प्रतिपक्षी दलको बैठकमा रास्वपाका सभापति लामिछानेको विषयमा छलफल भएको थियो । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।
स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्न कास्की अदालतबाट पुर्जी जारी गर्ने तयारी छ ।
संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
