• Saturday 17th of October 2026

मुगुकी महिलाले छ बच्चालाई जन्म दिएको भन्दै भ्रामक पोस्ट भाइरल


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक महिलाले छ वटा बच्चालाई जन्म दिएको दाबी सहितको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा मुगु, कर्णाली, छ वटा बच्चा आदि कीवर्ड सर्च गर्ने हो भने एउटै फोटो र उही शैलीको क्याप्सन राखिएको पोस्ट भाइरल भइरहेको देखिन्छ ।

यो घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको दाबी गरिएको छ । हरेकले आफ्नै शैलीले लेखेर पोस्ट गरेका छन् । केहीले मुगु जिल्लाको कर्णाली प्रदेशमा यस्तो घटना भएको उल्लेख गरेका छन् भने केहीले यो कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको भनेका छन् ।

यसका लागि टेकपानाले जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ​विभाकर मिश्रले यो भ्रामक सूचना भएको बताए । “धेरैले मुगुमा एउटा महिलाले एकै पटक छ बच्चा जन्माएको भनेर पोस्ट राखिराख्नु भएको रहेछ,” मिश्रले भने, “यस्तो कुनै पनि घटना मुगुमा भएको छैन ।”

यो फोटो गुगलमा रिभर्स इमेज सर्च गर्ने हो भने तीन वटा भिडियो पोस्ट भएको देख्न सकिन्छ । ती तीन वटै भिडियो एउटै देखिन्छन् । उक्त भिडियोमा स्वास्थ्यकर्मीको चाल अस्वाभाविक देखिन्छ । यस भिडियोको मुख्य स्रोत खोज्ने हो भने रनालर डट एआई (Ranalar.ai ) ह्यान्डलको टिकटक आईडीमा अपलोड भएको देखिन्छ ।

यसमा खुलस्त रूपमा यस्ता सामग्री मनोरञ्जनका लागि राखिएको भन्ने उल्लेख गरिएको छ । त्यही पोस्ट विभिन्न तरिकाले नेपाली प्रयोगकर्ताले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिरहेको देख्न सकिन्छ।

यस्तै सामाजिक सञ्जालमा एउटा जे पोस्ट आयो त्यसैका आधारमा सामाजिक सञ्जालबाट साभार भन्दै विभिन्न प्रयोगकर्ताले त्यही किसिमका पोस्ट आफ्नो धारणा राखेर अपलोड गरिरहेको देख्न सकिन्छ । टेकपानाले जाँच गरेका विभिन्न एआई टुलले पनि यो तस्बिर एआईबाट निर्माण गर्ने समस्या उच्च भएको देखाएको छ ।‌ विभिन्न पक्षलाई आधार मानी हेर्दा यो फोटो यहीँबाट तयार पारिएको देखिन्छ । त्यसैको आडमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो फोटोलाई मुगुको घटनासँग जोडेका छन् ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖