• Saturday 17th of October 2026

क्रिकेट हेर्न जाँदा बसेको माया छुट्यो प्लेअफमा


  • धनकुटा खबर
  • .

अच्युतशाली घिमिरे । नेपालीलाई के के चाहिं एकदम बबालै लाग्छ भन्ने प्रश्नमा अब क्रिकेट थपिने भएको छ। उसो त टियु ग्राउण्डमा अन्तर्राष्ट्रिय गेमहरू हुँदा नेपालीहरू उर्लिने गरेका उदाहरण हामीसँग छन्। समर्थन गर्नु पर्दा नेपालीहरू कृत्रिमता राख्दैनन्, पहाड नाघेरै गरिदिन्छन्। घरमै बसेर हेर्नेहरूलाई पनि पूरै मोहनी लिएर आउँछ, आफूलाई त्यही मैदानमा पुर्‍याउँछ। भाषा, उमेर, भूगोललाई बिर्साउँछ।

म आफू टियु केन्द्रीय क्याम्पसकै विद्यार्थी भएकाले क्रिकेट नलाग्ने कुरै भएन त्यसमाथि आफू सुदूरपश्चिमे ठिटो। नेपाल प्रिमियर लिग हुने गन्थन सुरु भएदेखि नै पर्खिएरै बसेको थिएँ। हाम्रा लागि त पानीपधेंरो नै हो क्रिकेट मैदान, एउटा क्लास लिएर खुसुक्क जान मिल्छ अनि अर्को क्लास लिन आउन मिल्छ। त्यसमाथि ५० प्रतिशत छुटको व्यवस्थाले त म जस्ता क्रिकेटप्रेमी हौसिएका थिए।

उद्घाटन खेल हेर्न जाने दिन त ओहो! घमासान युद्ध भन्दा बढी थियो। पैसा तिरेर हेर्छु भन्दा पनि मान्छेहरू भित्र छिर्न पाएका थिएनन्। लाठीचार्ज नै गर्नु परेको अवस्था थियो। कतिपय घाइते नै भएका थिए। त्यसैदिन हो मैले उनलाई देखेको। गेटबाट ठेलमठेल गर्दै भित्र छिर्न प्रयत्नशील थिइन्। सायद एक्लै थिइन्। मैले उनलाई केही मद्दत गरें। हुलबाट जोगाएँ र दर्शक बस्ने ठाउँसम्म पुर्‍याएँ। म त पूरै साथीहरूसँग त्यहाँ पुगेको थिएँ तर उनलाई देखेपछि वा भेटेपछि साथीहरू खोज्ने जाँगर आएन। उनले गरेको फेस पेन्टिंगले बुझ्न सकिन्थ्यो उनी विराटनगरकी फ्यान हुन् भनेर।

ठूलो भीड जम्मा भएको थियो। हामी एकै ठाउँमा बस्ने भयौं। त्यो दिन सुदूरपश्चिमको गेम थिएन। मन नहुँदा नहुँदै पनि मैले त्यो दिन विराटनगरका लागि हुटिङ गरिदिएँ। उनको घर नै विराटनगर रहेछ। यहाँ केन्द्रीय क्याम्पसमा म्यानेजमेन्टको विद्यार्थी। अनि म बाजुरेली ठिटो र फिजिक्सको विद्यार्थी।

इनिङ ब्रेकमा मैले सोधें, ‘हामी एउटै क्याम्पस भएर पनि डिपार्टमेन्ट अलग परेका रहेछौं र त भेट भएनछ हगि?’ ‘अ नि क्रिकेट हेर्न आउँदा भेट हुन लेख्या रैछ त !’ उनले हाँस्दै जवाफ फर्काइन्।

अरू बेला उनलाई बोल्ने फुर्सत थिएन। हुटिङमा व्यस्त थिइन्। घरी कराउँथिन् घरी नाँच्थिन्। म भने उनैलाई हेरिरहेको थिएँ। आफ्नो समर्थनको टोली मैदानमा थिएन त्यसैले पनि म गेममा भन्दा उनीप्रति आकर्षित थिएँ त्यो दिन। विराटनगरले चौका–छक्का हानेपछि उफ्रिने उनको नवजागृति देखेरै म प्रफुल्ल थिएँ। लाग्दै थियो यिनै सुन्दर भावहरूमा एउटा रंग चढाउँ, क्रिकेटबाट नै एउटा लयदार मिलाप गराउँ। उनी सन्दीप लामिछानेको बहुतै फ्यान रहिछिन्। मलाई भने लगाव नै थिएन। टाइगर भनेपछि दिपेन्द्र सिंह ऐरी हो भन्ने मात्र बुझ्थें म। तैपनि उनको अघि सन्दीपको प्रशंसा गरिदिएँ। त्यो दिन उसै उसै बित्यो। गेम पनि सिद्धियो। उनी बालाजु बस्ने रहिछिन् म माछापोखरी। अनि सँगै उनको स्कुटीमा फर्कियौं। नम्बर साटासाट गर्‍यौं अनि छुट्टियौं।

घर पुग्ने बित्तिकै श्रद्धा नाम खोजिहालें फेसबुकमा। विराटनगरको लोगो नै प्रोफाइल पिक्चर रहेछ। अनि त विराटनगरकै एन्थम गीतमा रिलहरू पनि टन्नै बनाएकी। यस्तो लाग्यो विराटनगरको सपोर्टमा विशिष्ट आनन्द मिलिरहेको थियो उनलाई। जिन्दगीको भागदौडबाट निस्किएर केही फुर्सत निकालेर उ रमाउन खोजिरहेकी थिई।

केही छिनमा रिक्वेष्ट एसेप्ट भएर उनको म्यासेज आयो, ‘भोलि क्याम्पस सँगै जाउँ है!’

मैले हुन्छ भनिहालें। बहुत खुशी थिएँ म। भित्र भित्रै बैंसालु चालहरू मुखामुख गर्दै हाँसिरहेका थिए। हामी विपरीत वा छुट्टा छुट्टै टिमको सपोर्ट गरिरहेका थियौं तर एकअर्काको अपनत्वलाई समेत आत्मसात् गरेका थियौं।

दिनहरू यसरी नै बित्दै थिए। सुदूरपश्चिम र विराटनगरका गेमहरू भएको दिन हामी एकअर्कालाई साथ दिन मैदान पुग्थ्यौं र अरू दिन आक्कलझुक्कल पुग्थ्यौं। एकदिन सुदूरपश्चिमको गेम भएको दिन हामीले सँगै ग्रुपमा देउडा खेल्यौं। दिपेन्द्रले छक्का चौका बर्साउँदा म उफ्रिन्थें। उनी एकटकले हेरिरहन्थिन्। हामी बदाम खाँदै मस्त हेरिरहेका थियौं। क्यामराले हामीलाई फोकस गर्‍यो र ठूलो स्क्रिनमा देखाइदियो। उसै त राम्री केटीको खोजीमा दौडिने क्यामरा उनलाई देख्दा टक्क अडिनु कुनै अनौठो कुरा भने थिएन। घरकाले हेरेर मार्ने पो हुन् कि भन्दै उनी केही डराएकी थिइन्।

तर अर्को दिन प्लेकार्डमा ठूलो अक्षरले, ‘क्रिकेट हेर्न आउँदा भेटिएका हामी’ भनेर लेखेर ल्याइथिइन्। अनि हामी दुवै जना जोडिएर प्ले कार्ड देखाइरहेका थियौं। यो टिभीमा देखेर केटाहरूले मलाई त्यसदिन यता क्लासमा जिस्क्याउन थाले। मैले कुनै विरोध जनाइनँ।

लगभग हप्ता दिन बितिसकेको थियो। क्रिकेट हेरिन्जेल त हामी सँगै थियौं नै छुट्टिएपछि पनि हामी टाढिएका थिएनौं। टियुको क्यान्टिनमा बसेर जेरी–समोसा खाँदै हेर्न नभ्याएका गेमहरूको रेकर्ड हेर्थ्यौं। एकदिन अरू टिमको म्याच भाको दिन दर्शक बस्ने ठाउँमा बसेर मिठो पारिलो घाम ताप्दै सुन्तला खाइरहेका थियौं। हामीलाई कर्णालीमा शिखर धवन नै खेलेकै भए पनि मतलब थिएन। एकअर्कालाई हेरिरहेका थियौं। बिदाको दिन नभएर धेरै मान्छे थिएनन्। तर जति थिए होहल्ला गरिरहेकै थिए।

कुनै दिन खाजा खान जाँदा क्यान्टिनमा भेट भएछ भने म उनलाई जरुर सोध्नेछु- ‘टेष्ट सिरिज जस्तै खेल्ने भनेको हाम्रो जोडीको पारी त एक ओभर पनि टिक्न सकेन र विकेट गुम्यो नि ?’ भनेर
मैले उनका हातहरू विस्तारै सुम्सुम्याएँ। मिठो अँगालो मारें, अनि हामी बिच प्रेम हुँदै गरेको यथार्थतालाई स्पर्श र अनुभूति मार्फत सत्यको नजिक पुर्‍याएँ। त्यो सामीप्यता, त्यो संगति, त्यो मिलाप, त्यो सत्याभाषित क्रियामा उनको कुनै विरोध रहेन। हामी चुपचाप स्कुटीमा घर फर्कियौं।

बेलुका च्याट मार्फत मैले लेखें, ‘खेलमा हार जित हुन्छ। क्रिकेट अझ टी–२० मा त हरेक बलहरूले अप्रत्याशित नतिजा दिन सक्छन्। हाम्रो भेट खेलकै माध्यमबाट भएता पनि म मायामा हारिन होइन हामी दुवैको जीतका लागि खेल्न चाहन्छु। जहाँ जिन्दगीका अनेकौं अप्ठ्यारा बलहरूमा पनि मिलेर हामीले चौका छक्का हान्न सकौं। जोडी त यस्तो होस् भनेर दर्शकले ताली पिट्न सकून्। दुवै मिलेर हाम्रा अवरोध अड्चनहरूको विकेट लिन सकौं। हाम्रो जिन्दगीमा रेफ्रीको आवश्यकता नहोस्। हामीले गरेका गल्तीहरू हामी आफैं पहिल्याउन सकौं। म तिमीसँग टी–२० होइन लामो टेष्ट सिरिज खेल्न चाहन्छु। लामो पारी खेलेर मनग्य रन जोड्न चाहन्छु। के तिमी दुई विकेट बीच दौडिने मेरो सारथि बन्न सक्छ्यौ?’

उनले म्यासेजमा लभ रियाक्ट गरेर छोडिदिइन्। म रिप्लाई नआउँदा सुत्नै सकिनँ। म उनी आउने बाटोमा बिहान कुरिराखें तर उनी आइनन्। त्यो दिन विराटनगरको गेम थियो। बस चढेर कीर्तिपुर लागें।

मैदान पुग्नै लाग्दा श्रद्धाको म्यासेज आयो, ‘म गेटमा छु। छिटो आउ भित्र छिर्ने। बिहानै प्रिजेन्टेसन थियो मेरो त्यसैले तिम्लाई कुरेर बस्न सकिनँ। सरी ल।’

अनि हामी दुवै जना भित्र छिर्‍यौं। उनलाई गेमले छरपस्टै छोइसकेको थियो। म भने हिजोको म्यासेजको रिप्लाई नआउँदा अझै पनि तरंगहीन र ऊर्जाशून्य बाँचिरहेको थिएँ। जब विराटनगरले फराकिलो अन्तरले जीत हासिल गर्‍यो, उनले मेरा गाला चुम्बन गरिन्। त्यो खुशीको उन्माद थियो वा हिजोको म्यासेजको रिप्लाई मैले भेउ पाउन सकिनँ तर मैले मिसाएर बुझें। अनि म पनि धुलो उडाएरै उफ्रिएँ।

हामी पूर्णतया प्रेममा थियौं। टियु ग्राउण्ड हाम्रा लागि डेटिङ स्पट बन्दै थियो। हामी अब अलि एकान्त खोज्ने भएर भीआईपी सिट काट्न थाल्यौं। सँगै अरूले देख्लान् कि भनेर क्यामराका लेन्सबाट टाढिन खोज्यौं। बरु उनका टिकटकहरू बनाइदिएँ।क्रिकेटको रसपान गर्दै हाम्रा आफ्नापनहरू पनि विस्तारै विस्तार हुँदै थिए।

तर गेमहरू सोचे जस्तो भएन। अर्थात् लिग चरणको अन्तिम अन्तिमतिर आउँदा सुदूरपश्चिम पहिलो नम्बरमा रहने होडबाजीमा थियो भने विराटनगर लिग चरणबाटै आउट हुन बाटो कुरिरहेको थियो। खेल्नका लागि मात्र खेलेको म्याच पनि के हेर्नु भनेर भन्थिन् उनी। उता म भने सुदूरपश्चिमको म्याच हेर्न आउनै पर्ने। अनि विस्तारै मैदानमा हामी सँगै देखिन छोड्यौं। श्रद्धा पढाइमा ध्यान दिन थालिन् भने म चाहिं सुदूरपश्चिमलाई जिताउन लागिराखें। प्लेअफको टुंगो लाग्दासम्म उनको र मेरो बोलचाल बन्द नै भयो।

के श्रद्धाले क्रिकेट हेर्न जाने साथीका रूपमा मात्र मलाई लिएकी थिइन्? उनलाई के कहिल्यै म प्रति प्रेमभाव नै थिएन? फास्ट बल जस्तै लाग्ने यी प्रश्नहरूले मलाई लखेटिरहे।

कुनै दिन खाजा खान जाँदा क्यान्टिनमा भेट भएछ भने म उनलाई जरुर सोध्नेछु- ‘टेष्ट सिरिज जस्तै खेल्ने भनेको हाम्रो जोडीको पारी त एक ओभर पनि टिक्न सकेन र विकेट गुम्यो नि ?’ भनेर।

नमरी बाँचे अर्को वर्षको संस्करणमा फेरि उनलाई विराटनगरको हुटिङ गर्दै गरेको हेर्न मन छ। आफूले उत्कृष्ट प्रदर्शन गर्दागर्दै लुम्बिनीलाई प्लेअफमा पुर्‍याउन नसकेका रोहित दाइले जस्तै १५ दिन पनि टिकाउन नसकेको प्रेमप्रति म आफूलाई त अभागी ठान्ने नै छु।-अनलाइनखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖