काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमालेको वर्तमान सरकार अब तीन वर्ष नै चल्ने दाबी गर्नुभएको छ ।
फुटवेयर म्यान्रुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै थापाले कसैले भन्दैमा सरकार दायाँ बायाँ नहुने बताउनुभयो । ‘काहीँ कसैले दायाँ बायाँ केही भनेर हुँदैन, भोट हाल्ने हामीले हो, यो सरकार केही हुँदैन, अब तीन वर्ष कांग्रेस एमालेको सरकार चल्छ’, थापाले भन्नुभयो ।
बिपी कोइराला र मनमोहन अधिकारीले छोट समयमा सरकार चलाउँदा पनि लोकप्रिय काम गर्नुभएको बताउँदै थापाले एमाले र कांग्रेसको वर्तमान सरकारलाई धेरै काम गर्ने अवसर रहेको बताउनुभयो । ‘तीन वर्ष दुईवटा पार्टी मिलेको सरकार बन्दा यहाँको नागरिकले लाभ पाउनु पर्छ’, थापाले भन्नुभयो ।
अहिले दिन रात नभनी दुईवटा राजनीतिक दलका नेताहरू र विभिन्न संयन्त्रहरूले काम गरिरहेका उहाँले बताउनुभयो । त्यसको परिणाम देखिने गरी आउने थापाले दाबी गर्नुभयो । धरै कुरा बिग्रिएकोले त्यसलाई सम्हाल्न केही समय लाग्ने भए पनि आफूहरूले सुधार गरेर देखाउने थापाले दाबी गर्नुभयो ।
कुनै पनि सरकार कति बलियो छ भन्ने कुरा उसले गर्ने कामले प्रमाणित गर्ने उहाँले बताउनुभयो । प्रतिनिधि सममा बहुमत नजुटाई सरकार नबन्ने भएकाले सबै सरकार बलिया हुने भए पनि उनीहरूले गरेका कामले बलिया र कमजोर प्रमाणित हुने बताउनुभयो ।
नागरिकले प्राप्त गर्ने लाभले मात्र सरकार बलियो हुने उहाँको धारण छ । नागरिक खुसी भए मात्र सरकार बलियो हुँदै जाने थापाको धारणा छ । ‘नागरिक खुसी भए भने सरकार बलियो हो, नागरिक खुसी भएनन् भने सरकार कमजोर हो’, उहाँले भन्नुभयो ।
थापाले चोरी पैठारीलाई नघटाउने हो भने नेपाली हुँदोहरू फस्टाउन नसक्ने बताउनुभयो । यसलाई नियन्त्रण गर्न सरकारका निकायले प्रभाकारी काम गर्नुपर्नेमा थापाले जोड दिनुभयो । सरकारले नेपाली उद्यमलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइदिनु पर्ने थापाले बताउनुभयो ।
नेपाली जुत्तालाई विदेश पठाउने विषयमा सोच्ने बेला आइसकेको पनि उहाँले बताउनुभयो । नेपाली बजारलाई हेरेर मात्र अब उत्पादन बिक्री नहुने उहाँले प्रष्ट पार्नुभयो ।
