झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा मुक्का प्रहार भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सुरुङ्गा नजिकै उनीमाथि मुक्का प्रहार भएको हो ।
आक्रमणबाट थापाको निधारमा चोट लागेको छ । बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ ञ १८७० नम्बरको गाडीमा सवार नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले मुक्का प्रहार गरेका थिए ।
प्रहरीका अनुसार थापाको गाडीले विद्युत् प्राधिकरणका कर्मचारीको गाडीलाई ओभरटेक गर्ने क्रममा विवाद सुरु भएको थियो । विवादले उग्ररूप लिएपछि ती कर्मचारीले थापामाथि हातपात गरेका हुन् । थापालाई बिर्तासिटी अस्पतालमा उपचार गराइएको छ । उपचारपछि उनी घर फर्किएका छन् ।
प्रहरीले घटनापछि नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । दुबै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
