• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

जलाउन लागेको शव फर्काएर अस्पताल लगियो, पोष्टमार्टम गर्दा भेटियो शरीरमा गोली


  • धनकुटा खबर
  • .

दाङ । दाङमा लडेका भनिएका व्यक्तिको गोलि लागेर मृत्यु भएको खुलेको छ। माघ ३ गते दिउँसो ४ बजेतिर दाङको दंगिशरण गाउँपालिका २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज नर्सिङ होममा रिफर गरिएको थियो। बेलुका साढे ८ बजे अस्पतालमा उनको मृत्यु भएको थियो। माघ ४ गते सामान्य पोष्टमार्टम गरेर भेरी अस्पताल बाँकेले मृतकको बुवा अबिर कुसारीलाई शव जिम्मा लगाएको थियो।

अबिरले छोराको दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा घरमा प्रहरी पुग्यो। आफूले कुसारीको लडेर नभई गोलि लागेर मृत्यु भएको सूचना पाएपछि तत्काल घरमा पुगेको दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताए। चार गते नै बुझाएको शव भोलिपल्ट बिहानै प्रहरीले फिर्ता ल्याएको थियो।

‘हामीले अस्पतालमा पनि बुझ्यौँ मृतकका बुबाले नै केही शंका छैन। छोराको लडेरै मृत्यु भएको भन्नु भएछ। त्यसपछि डाक्टरले पनि राम्रोसँग पोष्टमार्टम गरेनछन्। तर संकास्पद देखिएपछि पुनः पोष्टमार्टम गर्न फर्काएका थियौँ। दोस्रो पटक पोष्टमार्टम गर्दा शरीरमै गोली भेटियो’, एसपी तिमिल्सिनाले भने।

अनुसन्धानका क्रममा उनीहरु सिकार खेल्न जाँदा गोलि लागेको खुलेको हो। उनीसहित तीन जना सिकार खेल्न गएको र बन्दुक बोकेका व्यक्ति लड्दा गोली लागेको पुष्टि भएको एसपी तिमिल्सिनाले बताए। सोही गाउँका २२ वर्षका छबिलाल डाँगी र २७ वर्षका पुष्पलाल बस्नेतलाई तुलसीपुर बजारबाट प्रहरीले पक्राउ गरेको छ।-खबर सेन्टर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖