• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हमासले अब रिहा हुने ३ बन्धकको नाम आज सार्वजनिक गर्ने अपेक्षा, पर्लान् विपिन जोशी?


  • धनकुटा खबर
  • .

इजरायलले गाजामा जारी युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले शनिबार रिहा गर्न शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धक रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो। यसअघि हमासले युद्धविरामको उल्लंघन भएको भन्दै रिहाइ रोक्ने बताएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समयतालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो।

हमासका प्रवक्ता अब्देल लतिफ अल कानौले भने, ‘हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्ण रूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ।’

हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ रिहा गर्न इजरायलले दबाब दिएको हो।

सरकारका प्रवक्ता डेभिड मेन्सरले भने, ‘यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।’

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ। अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ भने बदलामा यसबीच इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

तर अहिलेसम्म रिहा हुनेमा नपरेका नेपाली विद्यार्थी विपिन जोशी यसपटक पनि पर्लान् वा नपर्लान्, भन्न गाह्रो छ। यद्यपि आशा भने गर्न सकिन्छ।

विपिन जोशी रिहा नहुँदा उनको परिवार पीडामा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖