काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका छन् । सत्तारुढ दलहरूको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको दबाब परेको छ ।
सरकारमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्त ठाकुरसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यही साता मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको बताइन्छ । गत शुक्रबार प्रधानमन्त्री ओली पाँच दिने स्पेन भ्रमणबाट स्वदेश फर्किसकेका छन् ।
स्पेन जानुअघिबाटै उनीमाथि मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब थियो । ओली नेतृत्वको सरकारमा सहभागी हुने समयमै जसपा र लोसपाले एक वर्षपछि आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर उनीहरूको ठाउँमा अर्कोलाई पठाउने आन्तरिक सहमति थियो । सोही अनुसार जसपा र लोसपाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेका हुन् ।
जसपाबाट नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री र प्रदीप यादव खानेपानी मन्त्री छन् । साह र यादवलाई फिर्ता बोलाएर जसपाले डा. वीरेन्द्रप्रसाद महतो र रञ्जु झालाई मन्त्री बनाउन खोजेको बताइन्छ । त्यस्तै, लोसपाबाट शरत्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । भण्डारीलाई फिर्ता बोलाएर लोसपाले सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी गरेको छ ।
आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर अर्कोलाई मन्त्रीको जिम्मेवारी दिनुपर्ने दबाबमा जसपा अध्यक्ष राई र लोसपा अध्यक्ष ठाकुर छन् । राई र ठाकुरले छिट्टै नै प्रधानमन्त्री ओलीसँग यस’boutमा छलफल गर्ने र मन्त्रीलाई फिर्ता बोलाएर अर्को पठाउने तयारी गरेका छन् ।
