• Tuesday 27th of October 2026

आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ सुरु


  • धनकुटा खबर
  • .

चितवन । चितवनको पूर्वी क्षेत्रका बासिन्दाहरू फेरि अँध्यारोमा बस्न बाध्य भएका छन्। अत्यधिक गर्मी र मनसुनमा समेत पर्याप्त वर्षा नपरेपछि सिँचाइको लोड एक्कासि बढेपछि नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आजदेखि लोडसेडिङ सुरु गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार अबदेखि विभिन्न फिडरमा दिनमा दुईपटक गरी ६ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। नारायणी–माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोडसेडिङ हुनेछ। मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ देखि १२ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म, भने जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रोपाईं सिजनमा पानीको स्रोत अत्यन्त कमजोर बनेको र किसानहरू विद्युत् मोटरमार्फत सिँचाइमा निर्भर बन्न थालेपछि विद्युत् माग अत्यधिक बढेको हो। यसले वितरण क्षमतामा चाप सिर्जना गरेकाले लोड व्यवस्थापनका लागि अस्थायी लोडसेडिङ गर्नुपरेको जनाएको छ।

गर्मी, सिंचाइ र विद्युत्को त्रिकोणीय दबाबले कृषि प्रधान क्षेत्र मानिने चितवनका किसानहरू चिन्तित छन्। स्थानीय स्तरमा सोलार ऊर्जा र वैकल्पिक स्रोतप्रति सरकारको लगानी र दीर्घकालीन नीति नहुँदा यस्ता समस्या बारम्बार दोहोरिइरहेका छन्।

अबको चुनौती भनेको विद्युत् आपूर्ति पुनर्संतुलन मात्र नभई, कृषि सिजनमै विद्युत् संकट दोहोरिन नदिन दीर्घकालीन संरचनागत समाधानतर्फ केन्द्रित हुनु हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖