काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । उद्योगहरूबाट नियुक्त भएका कतिपय ग्यास बिक्रेताहरूले बिक्री गरेपछि ग्राहक तथा डिलरलाई बिल बिजक जारी नगरेको व्यापक गुनासो आएपछि निगमले यस्तो कडाइ गरेको हो ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगहरूलाई पत्र पठाउँदै अनिवार्य रूपमा बिक्रेतालाई भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
निगमद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘उद्योगहरूबाट नियुक्त भएका कतिपय बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात् बिल बिजक जारी गर्ने नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा बिक्रेतालाई भ्याट बिल जारी गरी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध छ ।’
निगमले यस विषयमा निर्णय कार्यान्वयनका लागि यसअघि पनि सम्बन्धित सङ्घहरूलाई पत्राचार गरिएको उल्लेख गरे छ । बजारमा ग्यास कारोबारलाई पारदर्शी बनाउन र राजस्व चुहावट नियन्त्रण गर्नका लागि निगमले उद्योगहरूलाई यस्तो व्यवस्था मिलाउन सचेत गराएको जनाएको छ ।
