• Tuesday 27th of October 2026

सांसद अमरेश सिंह भन्छन् : रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा कांग्रेस-एमालेले खाए


  • धनकुटा खबर
  • .

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।

उनले विगत ३० वर्षदेखि देशमा सहकारीको रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) भएको दाबी गर्दै तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताए।

रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, ‘राज्यले प्रतिशोध साधिरहेको छ, यो राजनीतिक प्रतिशोध हो।’

उनले लामिछानेमाथि प्रतिशोध साध्नुको कारण गत निर्वाचनमा कांग्रेस र एमालेको मत घट्नु रहेको दाबी गरे। ‘विगतको चुनावमा कांग्रेसको पनि ५ लाख भोट घट्यो, एमालेको पनि ५ लाख भोट घट्यो। सहकारी हिनामिना गर्नुभयो भन्ने त्यसको प्रमाण छैन, तर भोट हिनामिनाको प्रमाण त निर्वाचन आयोगमा छ नि,’ सिंहले भने।

सांसद सिंहले सहकारी ठगीको वास्तविक जड पुराना दलहरू भएको आरोप लगाउँदै भने, ‘वास्तवमा सहकारीको पैसा हिनामिना सुरुदेखि कांग्रेस-एमालेले गरेको हो। रवि लामिछानेजीको राजनीतिक यात्रा कहिलेदेखि सुरु भयो ? तीन वर्ष पनि भएको छैन। जस्ले ३० वर्षदेखि शासन गरेर नेपाललाई गरिब बनाए, उनीहरूमाथि छानबिन हुनुपर्दैन ?’

न्याय प्रणालीमाथि समेत प्रश्न उठाउँदै उनले भने, ‘त्यही सहकारीमा एमालेका ऋषिकेश पोखरेलकी श्रीमतीलाई एक घण्टामै अदालतबाट छोडिन्छ, स्वर्णलक्ष्मीको सञ्चालकलाई त्यत्तिकै छोडिन्छ। तर रविलाई तारिख तोकिन्छ। यो कस्तो न्याय हो ?’

उनले भुटानी शरणार्थी, वाइडबडी र पासपोर्ट घोटाला जस्ता ठूला भ्रष्टाचार काण्डमा कांग्रेस-एमालेको संलग्नता रहेको तर ती मुद्दाहरूलाई दबाइएको आरोप लगाए।

‘भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? वाइडबडीको के पुग्यो ? जहाँ कांग्रेस-एमालेले भ्रष्टाचार गरेका छन्, त्यहाँ केही नहुने,’ उनले आक्रोश पोखे, ‘पुलिस-प्रशासनदेखि अदालतसम्म सबै सेटिङमा चलेपछि यो देशमा न्याय पाइँदैन।’

सिंहले देशमा भएका सबै संस्थागत भ्रष्टाचार र अनियमिततामा पुराना दलहरूको ‘सेटिङ’ रहेको दाबी गर्दै रवि लामिछानेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖