काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ ३ गते मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाए ।
त्यसको अघिल्लो दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई ‘पदीय आचरण’विपरीत काम गरेको भन्दै हटाउने सहमति कार्यान्वयनका लागि सांसदहरूको हस्ताक्षर संकलन गर्ने प्रयोजनका लागि उक्त बैठक बोलाइएको थियो ।
देउवाले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला सहभागी भएनन् । बैठकमा पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गर्ने कुरा भएपछि महामन्त्री गगन थापाले विरोध गरे । ‘अहिले उपसभामुखलाई हटाउने प्रक्रिया सुरु गर्यौँ नराम्रो सन्देश जान्छ । नगरौँ,’ थापाले भनेका थिए, ‘यसमा मेरो समर्थन छैन ।’
थापाले विरोध गरे पनि देउवाले प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई हस्ताक्षर संकलनको निर्देशन दिए । पार्टीको संस्थापन पक्षका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलमा आएर हस्ताक्षर गरे ।
त्यो हस्ताक्षर संकलन गर्ने कार्यकै दिन भैरहवामा रहेका महामन्त्री थापाले उतैबाट सञ्चारकर्मीहरूमार्फत विरोध जनाएका थिए । आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि फिल्ड स्टडी गर्न थापा रुपन्देही–३ पुगेका थिए । डा. कोइरालाले भने काठमाडौँबाटै विरोध जनाएका थिए ।
भदौ ४ गते प्रतिनिधिसभा बैठक बोलाइएको थियो । बैठकअघि भदौ ४ गते बिहान पनि देउवाले सोही प्रयोजनका लागि पदाधिकारी र पूर्वपदाधिकारीसहित आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाए । दोस्रो दिनको बैठकमा पनि महामन्त्री थापा उपस्थित भएनन् । डा. कोइरालालाई बैठकमा बोलाउन उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत टेलिफान भयो । तर कोइरालाले आफू बैठकमा सहभागी नहुने र देउवासँग छुट्टै बसेर यसबारे कुराकानी गर्ने गर्ने जानकारी पठाए ।
त्यसको दुई दिनपछि सभापति देउवाले भदौ ६ गते शुक्रबार डा. कोइरालालाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाए । त्यस वेला कोइराला बूढानीलकण्ठ गएको र करिब एक घण्टा छलफल भएको उनै थपालियाले रातोपाटीलाई जानकारी दिए । ‘शुक्रबार सभापतिज्यूले बोलाएर दाइ (डा.शेखर) जानुभएको थियो । करिब एक घण्टा कुराकानी भएको हो,’ थपलियाले भने, ‘कुराकानी के भयो भन्ने जानकारी भएन ।’
देउवानिकट स्रोतका अनुसार उपसभामुखलाई हटाउने विषयमा भएको हस्ताक्षर संकलनमा किन असन्तुष्टि राख्नुभएको भनी देउवाले सोधेका थिए । जवाफमा डा. कोइरालाले गल्ती नै गरेको भए पनि अनुपयुक्त समयमा यो विषय उठाइएको बताएका थिए । ‘गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । तर, कारबाहीको समय हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अनुपयुक्त समयमा यो विषय उठाइयो । यसले पार्टीलाई हित गर्दैन ।’
