• Monday 26th of October 2026

मन्त्री फेर्ने प्रस्तावमा प्रधानमन्त्रीले चासो नदिएपछि सरकारबाट बाहिरिने तयारीमा जसपा, अशोक राई काठमाडौं आउँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ भदौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा जुटेको छ । अध्यक्ष राईले आफ्नो पार्टीबाट सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा अरू दुई जना नै पठाउनेगरि नाम पठाउँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको भन्दै सरकारबाट बाहिरिने निर्णय लिन लागेको उच्चस्रोतको दाबी छ ।

राई यतिवेला काठमाडौंबाहिर छन् । उनी आजै काठमाडौं आउने बताईएको छ । राईले यसअघि पार्टीको पदाधिकारी बैठक राखेर अहिले सरकारमा सहभागी पार्टीका दुई जना मन्त्रीहरु प्रदिप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । उनीहरुको ठाउँमा डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउनेगरि राईले बालुवाटारमा नामसमेत पठाईसकेका छन् ।

मन्त्रीहरुलाई फिर्ता आउनको लागि राईले पदाधिकारी बैठकमार्फत भदौ ११ गतेसम्मको समयसिमा तोकेका थिए । तर, भदौ ११ गते हिजो व्यतित भैसकेको छ। त्यसको भोलिपल्ट आजसम्म पनि मन्त्रीहरुले राजीनामा दिएका छैनन् । पटक-पटक पार्टीको निर्णय कार्यावन्वनयको लागि राईले प्रधानमन्त्री ओलीसमक्ष ताकेता गरेका छन् । तर, अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै राईले भोलि पार्टीको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिन लागेको उच्चस्रोतको दाबी छ ।

जसपामात्रै नभएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि आफ्नो मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय लिएको छ । अहिले लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री छन् । उनको ठाउँमा ठाकुरले सर्वेन्द्रनाथ शुक्लालाई पठाउने निर्णय लिएका छन् । तर, अहिलेसम्म यो निर्णय कार्यान्वयन भएको छैन ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन भ्रमणमा जाने तय भएको छ । पाँच दिने भ्रमणमा चीन निस्किन लागेका प्रधानमन्त्रीले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेट गर्ने तयारी भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जाँदैछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖