नख्खु कारागारमा जेन–जी आन्दोलनका दिन तोडफोड र आगजनी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाको उपस्थितिको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
फेसबुकदेखि टिकटकसम्म भाइरल बनेको उक्त भिडिओमा झा कालो टिसर्ट र सेतो गम्छा लगाएर निकै हतारमा देखिएका छन्। भिडिओमा उनले ‘छोड्दिऊँ, छोड्दिऊँ’ भन्दै पछाडि फर्केर प्रतिक्रिया जनाइरहेको स्पष्ट सुनिन्छ।
भिडिओमा देखिएअनुसार, त्यतिबेला कारागार वरपर प्रदर्शनकारीहरूले जताततै आगजनी र तोडफोड गरिरहेका थिए। तर झाले उनीहरूलाई नियन्त्रण गर्ने वा रोक्ने कुनै प्रयास नगरी भाग्ने दृश्य मात्र देखिन्छ। यस कारण उनका गतिविधि र उपस्थितिबारे प्रश्न उठ्न थालेका छन्।
उक्त दिन रास्वपाका सभापति रवि लामिछाने सहकारी घोटालामा मुछिएर पुर्पक्षका लागि नख्खु कारागारमै थुनामा थिए। जेन–जी आन्दोलनको नाममा व्यापक प्रदर्शन भई अनियन्त्रित बनेपछि रास्वपाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत रविलाई निकाल्न आह्वान गरेका थिए। त्यस क्रममा प्रवक्ता झासहित कार्यवाहक सभापति डिपी अर्याल, सहमहामन्त्री विपिन आचार्य, सांसद हरि ढकाललगायत नेताहरू कारागार पुगेका थिए।
त्यसै क्रममा रवि लामिछाने कार्यकर्ताको नाराबाजीबीच हात हल्लाउँदै कारागारबाट निस्किएका थिए। तर पछि यो घटनाले चर्को विवाद निम्त्यायो। धेरैले जेन–जी आन्दोलन सहकारी ठगीको आरोपीलाई छुटाउन प्रयोग गरिएको भन्दै आलोचना गरे। पछि रवि फेरि कारागार फर्किएका थिए।
झाको भिडियो सार्वजनिक भएपछि, यो प्रकरणमा रास्वपाको भूमिकाबारे थप शंका बढेको छ। राजनीतिक विश्लेषकहरूले यस्तो संवेदनशील समयमा नेताहरूको गैरजिम्मेवार उपस्थितिले आन्दोलनको पवित्रता नै प्रश्नमा पर्ने टिप्पणी गरेका छन्।
