• Thursday 22nd of October 2026

निजामती कर्मचारीमा पनि खुल्यो जेनजी समूह, मुख्यसचिव सहितको राजीनामा माग


  • धनकुटा खबर
  • .

काठमाडौं । सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ अन्तर्गत निजामती कर्मचारीमा पनि ‘जेनजी समूह’ खुलेको छ । नवयुवा पुस्ता जेनजीले भदौ २३ र २४ गते मुलुकभर गरेको आन्दोलनसँगै सार्वजनिक प्रशासनमा भ्रष्टाचारको अन्त्य र सुशासन बहालीको माग गर्दै अहिले निजामती कर्मचारीमा पनि जेनजी समूह बनेको हो ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ नाम दिइएको जेनजी समूहले वर्तमान प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता र गैरजिम्मेवारीपनलाई मुख्य कारण ठहर गर्दै नेपाल सरकारका मुख्यसचिव, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, गृहसचिव लगायत जिम्मेवार पदाधिकारीको तत्काल बर्खास्त वा राजीनामा दिन माग गरेको अभियानमा आवद्ध प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत गणेश घिमिरेले नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाल सरकारका सहसचिव, उपसचिव र अधिकृतसहितको संयुक्त भेलाले उक्त निर्णय गरेको हो । भदौ २५ गते प्रधान सेनापती अशोकराज सिग्देलसँग दुर्गा प्रसाईको वार्तामा घिमिरे सहभागि थिए ।

साथै, अभियानले निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राखेर सहज र सुरक्षित कार्य वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । यसका अतिरिक्त, सार्वजनिक प्रशासनमा कर्मचारी सरुवा, बढुवा प्रणालीको विकृति र विद्यमान दलीय ट्रेड युनियन तत्काल खारेज गर्नसमेत माग गरिएको छ ।

अभियानका आयोजकले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि संघीय निजामती सेवा ऐन लगायत अन्य सार्वजनिक सेवा व्यवस्थापन कानून जारी नभएकोमा चिन्ता व्यक्त गर्दै, तत्काल कानुन निर्माण गरी सुशासनको दिशा तय गर्न जोड दिएको छ ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियानका सन्देशअनुसार सम्पूर्ण देशभक्त र रूपान्तरणप्रेमी राष्ट्रसेवक कर्मचारीलाई जेनजी आन्दोलनको मर्म बमोजिम नेपालको सुनौलो भविष्य निर्माणमा सक्रिय भएर लाग्न आह्वान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖