काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ । मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो ।
शीतल निवास स्रोतले भन्यो, ‘बालुवाटारबाट ५ जनाको नाम आयो । सोहीअनुसार नियुक्त भएपनि एकाएक बालुवाटारबाट अहिले उहाँको केही नगर्नु भन्ने जानकारी आयो । त्यससँगै अन्योल भयो ।’
५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो ।
मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उनीमाथि प्रश्न रहेको पाइएपछि विवाद हुने बुझाइ बालुवाटारको रहेको छ ।
सोही कारण उनको मन्त्री पदको शपथ हुने कि नहुने भन्ने मै अन्योल रहेको शीतल निवास स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘अब के हुने हो । बालुवाटारबाट आउला । सोहीअनुसार शीतल निवास अघि बढ्छ ।’
बालुवाटारले शीतलनिवासमा आइतबार नै मिश्रा सहित ५ जनाको नाम पठाएको थियो । मन्त्रीहरुको शपथ कार्यक्रम २ बजेका लागि राखिएको छ ।
