• Thursday 22nd of October 2026

कांग्रेस–माओवादी नेताका घरमा भेटिएको पैसामाथि छानबिन सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वऊर्जा मन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको नगदमाथि छानबिन सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा यी नेताहरूको निवासमा भेटिएका र जलेका भनिएका पैसाका नोटबारे अनुसन्धान अघि बढाइएको हो।

घरमै पुगेर खरानी र टुक्रा संकलन

आइतबार विभागको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको घर पुगेको थियो। टोलीले आगजनी भएको घरमा पुगेर मुचुल्का तयार गरेको र नोटका टुक्रा तथा खरानी संकलन गरेको विभागका एक अधिकारीले जानकारी दिए।
दक्षिण ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा पनि छानबिन गर्न विभाग तयारी अवस्थामा रहेको छ। त्यहाँ अहिले प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

जलेका र सग्ला नोटबारे अनुसन्धान

विभागका अधिकारीका अनुसार आगजनीका क्रममा केही नोट जलेका र केही सग्ला नोट प्रदर्शनकारीले बोकेको आशंका गरिएको छ। यस विषयमा प्रमाण संकलन भइरहेकाले छानबिन अघि बढाइएको छ।
सो घटनासँग सम्बन्धित फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भए पनि ती सामग्रीको सत्यता पुष्टि हुन बाँकी छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा ल्याइने

विभागका अनुसार संकलित खरानी वा टुक्रा वास्तविक नोट भएको प्रमाणित भए, त्यसलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जोडिनेछ। यसबारे राजस्व अनुसन्धान विभागले पनि छुट्टै ध्यानाकर्षण गरेर प्रारम्भिक छानबिन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖