• Monday 5th of October 2026

क्रिकेटर सन्दीप लामिछानेबारे गलत समाचार प्रकाशन भएपछि कान्तिपुर टेलिभिजनले सार्वजनिक रूपमा माग्यो क्षमा


  • धनकुटा खबर
  • .

क्रिकेटर सन्दीप लामिछानेबारे गलत समाचार प्रकाशन भएपछि कान्तिपुर टेलिभिजनले सार्वजनिक रूपमा क्षमा मागेको छ।

आइतबार वेबसाइटमा प्रकाशित समाचारले सन्दीपले वेस्ट इन्डिजविरुद्धको खेलमा ‘नासा सेक्युरिटिज’ अंकित जर्सी लगाउन अस्वीकार गरेको दाबी गरेको थियो। तर सन्दीपले तुरुन्तै सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गर्दै तीव्र प्रतिक्रिया जनाएपछि कान्तिपुरमाथि आलोचना चर्किएको हो।

सोमबार कान्तिपुर टेलिभिजनले विज्ञप्ति जारी गर्दै समाचार स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको र यसले असुविधा पु¥याएकोमा क्षमा मागेको छ। विज्ञप्तिमा भनिएको छ, “आधिकारिक स्रोतबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो। यसले पारेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। भविष्यमा थप तथ्यपरक र सावधानीपूर्वक समाचार लेख्ने प्रतिबद्धता गर्दछौं।”

तर कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक सम्भव सिरोहिया भने यस क्षमायाचनाले मात्र समस्या समाधान नहुने बताएका छन्। उनले आफ्नै न्यूजरुममाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै फेसबुकमा लेखेका छन्, “यो शुद्ध चिया गफ र हल्ला थियो, जसलाई समाचार बनाइयो। पत्रकारिताको आधारभूत सिद्धान्तअनुसार सन्दीपको पक्ष लिइएन, तथ्यजाँच भएन, गल्ती पहिचानपछि पनि सुधार गर्न ढिलाइ गरियो।”

सिरोहियाले यस घटनाले संगठनको विश्वसनीयतामा गम्भीर असर पारेको बताउँदै संरचनात्मक कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन्। उनले भने, “हामीसँग धेरै उत्साही र समर्पित पत्रकारहरू छन्। तर हिजो भएको गल्तीप्रति शून्य सहनशीलता अपनाउँदै यस्ता घटनाबाट सिकेर अघि बढ्नुपर्छ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖