• Sunday 4th of October 2026

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल चिकित्सक संघ ले वीरगन्जस्थित नारायणी अस्पताल मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १२ गते देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिने जनाएको हो।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। उक्त घटनामा चिकित्सकको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालमा तोडफोडसमेत गरिएको संघले जनाएको छ।

घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै जिल्ला प्रहरी प्रमुखले बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।

नेपाल चिकित्सक संघले दुवै घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति र स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖