इजरायल । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा उडानका क्रममा अचानक तीव्र अवतरण र ककपिटमा भएको घटनापछि यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो । विमानमा आफ्ना छोरीहरू र पार्टनरसहित रहेकी महिला गेयरले विमान पटक–पटक तीव्र रूपमा तल झर्दा आफूहरू विमान दुर्घटनामा पर्न लागेको ठानेकी बताएकी छन् ।
गेयरका अनुसार उनकी एक छोरी शौचालय जान उठेका बेला विमानले अचानक असामान्य रूपमा तीव्र हावाको झट्का खाएको थियो । त्यसपछि विमान तल झर्न थालेको र यात्रुहरूबिच आतंक फैलिएको उनले बताइन् ।
‘मेरा छोरीहरूले मलाई अँगालो हाले र हामीले एक अर्कालाई बिदाइ मात्र गर्यौं,’ उनले भनिन् । आफूले छोरीहरूलाई माया गर्ने बताएको र पार्टनरले पनि आफूलाई त्यही कुरा भनेको उनले सुनाइन् ।‘मृत्युलाई हामीले आँखैअगाडि देखिरहेका थियौँ,’ गेयरले भनिन् ।
उनका अनुसार विमानभित्र यात्रुहरू चिच्याइरहेका थिए । माथि सामान राख्ने क्याबिनेटहरू खुल्न थालेका थिए भने विद्युत् आपूर्ति बन्द भएको थियो । सञ्चार प्रणाली र यात्रुहरूले हेर्ने स्क्रिनसमेत काम गर्न छाडेका थिए ।
‘के भइरहेको छ भन्ने तपाईंलाई केही थाहा हुँदैन र त्यो अवस्था चलिरहन्छ,’ उनले भनिन् ।
यात्रुहरू ककपिटतर्फ दौडिए
अर्की यात्रु मिरियम ओहायोनले पनि विमान केही मिनेटसम्म पूर्ण रूपमा नियन्त्रणबाहिर रहेको जस्तो महसुस भएको बताएकी छन् । ओहाना नाम गरेकी एक यात्रुका अनुसार, विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएपछि यात्रुहरूले विमान दुर्घटनामा पर्न लागेको ठानेको बताइन् । ‘केही मिनेटसम्म विमान पूर्ण रूपमा नियन्त्रणबाहिर जस्तो थियो । हामीलाई अब यही अन्त्य हो, हामी दुर्घटनामा पर्दैछौं भन्ने लाग्यो,’ उनले भनिन् ।
उनले त्यतिबेला आफ्नी आमालाई सम्झिएको बताइन् । ‘म मर्न सक्दिनँ । मैले मेरो भाइ गुमाइसकेकी छु । म मेरी आमा एक्लै हुनेछिन् ।’ यस्तो सोच आएको उनले बताइन् ।
