काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन् ।
२०८३ असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट (एचआर ३८ एएल १६३४) ले सोही दिशातर्फ गइरहेको मोटरसाइकल (बा.प्र.०७१ प ७०६३) लाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान करिब ६ बजे चिकित्सकले बालक जुवासलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
