• Saturday 17th of October 2026

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा विभिन्न १५ पदमा आवेदन, मासिक तलब २ लाख ५० हजारसम्म


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना प्रविधिसम्बन्धी प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

केन्द्रले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका पदमा जनशक्ति माग गरिएको छ। पदअनुसार मासिक पारिश्रमिक ४० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ।

सूचनाअनुसार प्रमुख प्रविधि विज्ञ पदमा एक जना माग गरिएको छ। उक्त पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

त्यस्तै, प्रोजेक्ट म्यानेजरका दुई पदका लागि मासिक २ लाख रुपैयाँ तथा सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस), सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ), सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) र सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) का लागि जनही मासिक २ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।

सिस्टम एनालिस्टका चार पदका लागि मासिक १ लाख ६० हजार रुपैयाँ, सिनियर डेभलपरका तीन तथा सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटरका दुई पदका लागि मासिक १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

त्यसैगरी, मध्यम तहका डेभलपरका १५ पदका लागि मासिक १ लाख २५ हजार रुपैयाँ र साइबर सुरक्षा विज्ञका दुई पदका लागि मासिक १ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्वालिटी एनालिस्ट (क्यूए) र यूआई/यूएक्स डिजाइनरका दुई-दुई पदका लागि मासिक ९० हजार रुपैयाँ, जुनियर डेभलपरका तीन पदका लागि ४८ हजार रुपैयाँ तथा टेक सपोर्टका दुई पदका लागि मासिक ४० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

छनोट हुने उम्मेदवारको पारिश्रमिक, सेवा सुविधा तथा करारसम्बन्धी अन्य व्यवस्था सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०८३ तथा सोको अधीनमा रही गरिने करार सम्झौताबमोजिम हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖