सप्तरी : विजयादशमी मनाउन बहिनीको घर आएकी २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ ।
सिरहा घर भएकी ती महिला गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जनका लागि बलान नदी पुगेर फर्किने क्रममा घटनामा परेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।मूर्ति विसर्जनपछि ट्याक्टरमा फर्किरहेकी उनी सवार ट्याक्टर डिजेल सकिएर बाटोमै रोकिएपछि एक्लै पैदल घरतर्फ हिँडेकी थिइन् ।
प्रहरीका अनुसार बाटोछेउमा बसेका तीन युवकले उनलाई नियन्त्रणमा लिएर नजिकैको आँपको बगैँचामा लगी सामूहिक बलात्कार गरेको आरोप छ ।ती युवकले आफूलाई बेहोस अवस्थामा छाडेर भागेको पीडित महिलाले बताएकी छन् ।
अबेरसम्म घर नफर्किएपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए । प्रहरीले आरोपित युवकहरूको खोजी गरिरहेको जनाएको छ ।
