न्युयोर्क । अमेरिकाको रोड आइल्यान्डस्थित एक मिडल स्कुलमा बालबालिकाको तनाव र एङ्जाइटी कम गर्नका लागि एउटा बिरालोलाई आधिकारिक रूपमा ‘थेरेपी क्याट’को दर्जा दिइएको छ।
साढे तीन वर्षको उक्त बिरालोको नाम पाइनकोन हो। विद्यालयकी कला शिक्षिका क्याली स्मिथले उसलाई हप्तामा तीन दिन आफूसँगै विद्यालय ल्याउने गरेकी छन्।
शिक्षिका क्याली स्मिथले सन् २०२५ को सेप्टेम्बरमा विद्यालय प्रशासनसँग यसको अनुमति मागेकी थिइन्। होहल्ला र भिडभाडका बिच पनि शान्त रहने परीक्षा उत्तीर्ण गरेपछि सन् २०२६ को जनवरीमा पाइनकोनलाई विद्यालय आउने अनुमति मिलेको थियो।
अहिले उसले आफ्नो धेरैजसो समय आर्ट रुममा बिताउने गर्छ। कक्षाको बिचमा हुने ब्रेकको समयमा पाइनकोन विद्यालयमा घुम्छ र बालबालिकाका लकरहरू सुँघ्छ, जसलाई विद्यार्थीहरू उसको सुरक्षा ड्युटी भन्ने गर्छन्।
शिक्षिका क्याली स्मिथले भनिन्, ‘पाइनकोन यहाँ नैतिक समर्थन दिन र राम्रो वातावरण बनाउनका लागि छ। उसले बालबालिकाको एङ्जाइटी कम गर्न धेरै मद्दत गर्छ। जुन बालबालिकाको दिन राम्रो गइरहेको हुँदैन, उनीहरू उसलाई सुमसुम्याउन र केही पल शान्तिसँग बिताउन मेरो कक्षामा आउँछन्।’
उनका अनुसार पाइनकोन धेरै रमाइलो छ। उनी सोही भवनमा काम गर्ने कर्मचारीजस्तै व्यवहार गर्ने भएकाले पनि अनलाइनमा निकै चर्चित बनेको उनले बताइन्।
