• Thursday 29th of October 2026

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘अल टाइम बालोन डी ओर’


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पार्दै पहिलो संस्करणको ‘बालोन डी ओर अफ अल टाइम’ (बोट) अवार्ड जितेका छन्।

म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा रोनाल्डोले गरेको प्रदर्शनलाई प्रतिष्ठापूर्ण फुटबल सम्मानको इतिहासमै सबैभन्दा उत्कृष्ट व्यक्तिगत सिजनका रूपमा चयन गरिएको हो।

फ्रान्स फुटबलद्वारा सुरु गरिएको यस अवार्डमा बालोन डी ओर विजेता सिजनहरूमध्ये कुन उत्कृष्ट थियो भनेर छनोट गर्ने अधिकार प्रशंसकहरूलाई दिइएको थियो। गोल डटकमका अनुसार सन् २०१२ मा मेस्सीले एकै क्यालेन्डर वर्षमा सबै प्रतियोगिता गरी कीर्तिमानी ९१ गोल गरे पनि रोनाल्डोको सन् २००८ को पहिलो बालोन डी ओर जितलाई समर्थकहरूले शीर्ष स्थानमा राखेका छन्।

म्यानचेस्टर युनाइटेडका लागि सन् २००७-०८ को सिजन रोनाल्डोको खेल जीवनको उत्कृष्ट मोडल मानिन्छ। उक्त सिजन सबै प्रतियोगितामा गरी ४२ गोल र आठ असिस्ट गर्दै उनले टोलीलाई प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए।

उनले प्रिमियर लिगको गोल्डेन बुट र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन सु समेत जितेका थिए। सोही अवधिमा उनले प्रिमियर लिग प्लेयर अफ द सिजन, पिएफए प्लेयर्स प्लेयर अफ द इयर, एफडब्लुए फुटबलर अफ द इयर, युइएफए क्लब फुटबलर अफ द इयर र फिफा वर्ल्ड प्लेयर अफ द इयरजस्ता प्रमुख व्यक्तिगत सम्मान हासिल गरेका थिए, जसको अन्त्य सन् २००८ मा उनको पहिलो बालोन डी ओर जितसँगै भएको थियो।

पत्रकारहरूको अन्तर्राष्ट्रिय प्यानलले निर्णय गर्ने परम्परागत बालोन डी ओरभन्दा फरक यो अवार्ड अनलाइन भोटिङमार्फत समर्थकहरूकै हातमा सुम्पिएको थियो। समर्थकहरूले एक युरो शुल्क तिरेर मतदान गर्न सक्ने व्यवस्था गरिएको थियो भने सहभागीहरूलाई सन् २०२७ को बालोन डी ओर समारोहका दुईवटा टिकट दिने गरी गोलाप्रथामा समावेश गरिएको थियो।

मनोयन सूचीमा योहान क्रोइफ, मिचेल प्लाटिनी, मार्को भान बास्टेन, कार्ल-हेइन्ज रुमेनिगे, केभिन किगन, फ्रान्ज बेकेनबाउर, अल्फ्रेदो डि स्टेफानो र रोनाल्डो नाजारियोजस्ता दिग्गज खेलाडीका उत्कृष्ट सिजनहरू परेका थिए।

मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ र २०२३ गरी कीर्तिमानी आठ पटक बालोन डी ओर जितेका छन् भने रोनाल्डोले पाँच पटक यो अवार्ड हात पारेका छन्। तर बोट अवार्डले समग्र खेल जीवनको उपाधिभन्दा पनि बालोन डी ओर जितेको कुनै एक निश्चित सिजनको महानतालाई मापन गरेको छ।

रोनाल्डोको सन् २००८ को सिजनले शीर्ष स्थान हासिल गरेपछि प्रशंसकहरूमाझ दुई महान् खेलाडीको उपलब्धिबारे बहस गर्ने अर्को विषय थपिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖