काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय टोलीलाई भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी आर्थिक सहकार्य र विकासका सम्भावना खोज्न केन्द्रित हुन निर्देशन दिएका छन्।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिएका हुन्।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले चीनसँग व्यापार, व्यवसाय, प्रविधि, पर्यटन र कृषिलगायतका क्षेत्रमा सहकार्य विस्तार गरेर नेपालले अधिकतम लाभ लिनुपर्ने धारणा राखेका थिए।
चीनले प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपालले सिक्न सक्ने विषयलाई भ्रमणको प्राथमिकतामा राख्न पनि प्रधानमन्त्रीले सुझाव दिएका थिए।
‘नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुनुपर्छ। भ्रमण केवल घुमघाममा सीमित नभई आर्थिक साझेदारी र विकासका सम्भावना खोज्न केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बुर्लाकोटीले बताए।
प्रधानमन्त्रीसँगको छलफलमा भ्रमणका क्रममा उठाइने एजेन्डा, नेपाल–चीन कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनाबारे विचारविमर्श भएको थियो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्दैछ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ।
भ्रमणमा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गरिने बताइएको छ।
टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्।
