• Friday 27th of November 2026

मानव अधिकार आयोगमा इनम सापकोटाको निवेदन, गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूलाई प्रहरीले नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा राखेको तथा विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब र धम्की दिएको आरोप लगाउँदै इनम सापकोटाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगको ललितपुरस्थित कार्यालयमा निवेदन दिँदै परिवारको सुरक्षा सुनिश्चित गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

मंसिर ११ गते दर्ता गरिएको निवेदनमा सापकोटाले गत असोज १४ गते भारतको नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् । बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचको प्रतीक्षामा रहेका बेला प्रहरीले मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उनको भनाइ छ ।

निवेदनअनुसार उनलाई असोज १५ गतेसम्म आँखामा पट्टी बाँधेरै राखिएको र विभिन्न व्यक्तिबारे सोधपुछ गरिएको थियो । सो क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाइएको छ ।

ती व्यक्तिहरूविरुद्ध बयान दिए रिहा गर्ने, नदिए आफू तथा परिवारलाई दुःख दिने धम्की दिइएको सापकोटाको दाबी छ । आफूलाई जानकारी नभएका तथा आफूले नबताएका कुरा समावेश गरी तयार पारिएको कागजातमा हस्ताक्षर गर्न दबाब दिइएको र अस्वीकार गरेपछि पुनः आँखामा पट्टी बाँधेर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको निवेदनमा उल्लेख छ ।

अनुसन्धान पूरा नहुँदै विभिन्न उपनाम दिएर सञ्चारमाध्यममा आफूलाई दोषीका रूपमा प्रस्तुत गरिएको भन्दै सापकोटाले आपत्ति जनाएका छन् । यसले संविधानको धारा २० अन्तर्गतको न्यायसम्बन्धी हक, स्वच्छ सुनुवाइ र निर्दोषिताको अनुमानसम्बन्धी अधिकार उल्लंघन भएको उनको दाबी छ ।

निवेदनमार्फत सापकोटाले आफूलाई नियन्त्रणमा लिने प्रहरी अधिकारी तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी अनुसन्धान गर्न, गैरकानूनी नियन्त्रण र शारीरिक तथा मानसिक यातनाको आरोपबारे छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न आयोगसँग माग गरेका छन् । साथै, आफू र परिवारको जिउज्यानको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन् ।

निवेदनमा उल्लेख गरिएका आरोप तथा दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖