• Tuesday 6th of October 2026

अस्ट्रेलियन कप्तान भन्छन्– ‘म त जसोतसो २०० रन बनाएर टोलीको नेट रन रेट बढाउने धुनमा थिएँ’


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको मङ्गलवार राति सम्पन्न खेलमा ग्लेन म्याक्सवेलको अविश्वासिलो प्रदर्शनका कारण अस्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराएको थियो । त्यो खेलपछि म्याक्सवेलको ब्याटिङको चौतर्फी प्रशंसा भइरहँदा अस्ट्रेलियन टोलीका कप्तान प्याट कमिन्सले एउटा रमाइलो रहस्य खोलेका छन् ।

कप्तान कमिन्सले केवल ९१ रनको कुल स्कोरमा सात विकेट खसिसकेको अवस्थामा आफूले जितको बारेमा कल्पनासम्म नगरेको बताएका छन् । उनले आफू त्यतिबेला टोलीको कुल स्कोर जसोतसो दुई सय रन पुर्‍याएर नेट रन रेट थोरै भए पनि बढाउने ध्याउन्नमा रहेको बताएका छन् ।

मुम्बईस्थित वानखेड स्टेडियममा मङ्गलवार राति अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । पालीको अत्यन्तै निराशाजनक सुरुआत गरेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो ।

त्यतिबेलासम्म अस्ट्रेलिया हारको सँघारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैठौँ नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान प्याट कुमिन्स । त्यसमाथि ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा रहेका थिए । केही दिनअघि गल्फ खेल्ने क्रममा उनलाई चोट लागेको थियो ।

सोही कारणले उनले इङ्गल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए । त्यसैले मङ्गलवार अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरूकै लागि पनि अविश्वासिलो थियो । म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए ।

जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो । म्याक्सवेलले केवल एक सय २८ बलको सामना गरी १० छक्का र २१ वटा चौका प्रहार गरेका थिए । कप्तान कुमिन्सले पनि म्याक्सवेलले गतिलो साथ दिँदै ६८ बलमा अविजित १२ रन बनाएका थिए ।

सोही विषयलाई लिएर सोधिएको एक प्रश्नको जवाफमा अस्ट्रेलियन कप्तान कमिन्सले भनेका छन्, ‘जब म क्रिज समाल्न मैदानमा ओर्लिएँ त्यतिबेला मेरो दिमागमा एउटै योजना घुमिरहेको थियो । जसोतसो टोलीको स्कोर दुई सय रन पुर्‍याएर नेट रन रेट बढाउन चाहन्थेँ । अफगानिस्तानसँग हारेपछि सेमिफाइनलमा पुग्न अर्को खेलका लागि त्यो आवश्यक पनि थियो । म्याक्सीले शतक पुरा गर्दासम्म पनि मैले जितको विषयमा सोचेको थिइन ।’

कप्तान कमिन्सले म्याक्सवेलको उत्कृष्ट ब्याटिङसँगै टोलीको स्कोर दुई सय ५० रन पुगेपछि मात्र आफूले जितको बारेमा सोच्न थालेको प्रतिक्रिया पनि दिएका छन् । ‘म्याक्सी रन मेसिनमा रूपान्तरित भइसकेका थिए । जब टोलीको स्कोर दुई सय ५० रन पुग्यो त्यसमाथि मात्र मलाई लाग्यो अब चमत्कार हुन सक्छ । जब टोलीलाई जितका लागि ४० रन चाहिएको थियो त्यसपछि मेरो आत्मविश्वास फर्कियो । मलाई लाग्यो, अब म्याक्सी आउट भए भने पनि हामी टोलीलाई जितसम्म डोर्‍याउन सक्छौँ,’ उनले भनेका छन् ।

कप्तान कमिन्सले म्याक्सवेलको मुक्त कण्ठले प्रशंसा पनि गरेका छन् । उनले भनेका छन्, ‘वास्तवमै म्याक्सी कमालका खेलाडी हुन् । उनी मनमौजी स्वभाका छन् । उनको आत्मविश्वास पनि बलियो छ । हामी धेरै कुरा सोचेर खेल्छौँ तर, उनी जहिले पनि जितका लागि मात्र मैदानमा ओर्लन्छन् । आजको जस्तो ब्याटिङ यसअघि मैले कहिल्यै देखेको पनि थिइन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖