• Tuesday 6th of October 2026

डी ककले बराबरी गरे गिलक्रिस्ट र सरफराजको कीर्तिमान


  • धनकुटा खबर
  • .

अहमदाबाद । दक्षिण अफ्रिकाका विकेटकिपर क्वीन्टन डी ककले आईसीसी विश्वकप क्रिकेटको एक खेलमा सबैभन्दा धेरै खेलाडी आउट गर्ने कीर्तिमान बराबरी गरेका छन् । शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

दक्षिण अफ्रिकाले खेलमा लिएको अफगानिस्तानका १० मध्ये ६ वटा विकेटमा डी कक सामेल थिए । उनले ६ वटै क्याच लिएका थिए । अस्ट्रेलियाका एडम गिलक्रिस्ट र पाकिस्तानका सरफराज अहमदपछि यस्तो उपलब्धि हासिल गर्ने उनी तेस्रो विकेटकिपर बने ।

उनले इब्राहिम जादरान, हसमतुल्लाह शाहीदी, इक्राम अलिखिल, मोहम्मद नाबी, रासिद खान र नुरु अहमदलाई आफ्नो शिकार बनाएका थिए । यसअघि गिलक्रिस्टले सन् २००३ को विश्वकपमा नामिबियाविरुद्ध र सरफराजले सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध ६ वटा खेलाडी आउट गरेका थिए ।

एकदिवसीय क्रिकेटमा भने एउटै खेलमा ६ वटा खेलाडी आउट गरेको उनले यो दोस्रो पटक हो । सन् २०१४ मा उनले न्युजिल्याण्डविरुद्ध ५ वटा क्याच लिनुका साथै एउटा स्टम्पिङ गरेका थिए । गिलक्रिस्टले सर्वाधिक ६ पटक यस्तो उपलब्धि हासिल गरेका छन् ।

शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖