धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी–२० विश्व कपमा पुगाउन भूमिका खेलेको भन्दै दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले ५-५ लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीन जना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशि समेत तोकेका हुन् ।
शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् । प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।
