• Sunday 4th of October 2026

रक्तचाप कम भएर ढले के गर्ने, के नगर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं- उच्च रक्तचाप अहिले आम रोग भइसक्यो। अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचापको समस्या बढ्दो छ। उच्च रक्तचापसँगै कम रक्तचाप (प्रेसर लो) हुने समस्या पनि मानिसहरुमा उत्तिकै पाइन्छ। यस्तोमा कतिपयले घरेलु ‌औषधि खाने वा विभिन्न घरेलु उपाय अपनाउने गर्छन्। तर यस्तो गर्न नहुने सल्लाह चिकित्सकहरु दिन्छन्। रक्तचाप कम भए के गर्ने त ? यस्तो छ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सुझाव।

रक्तचाप कम भएर ढलेका बिरामीलाई कतिपयले जीवनजल अथवा नुनपानी दिने गरेको पाइन्छ तर त्यसो गर्न हुँदैन। सुरुमा त व्यक्ति लो प्रेसरकै कारण ढलेको हो कि होइन भन्ने यकिन गर्नुपर्छ। घरमा प्रेसर जाँच्ने मेसिन छ भने त्यसबाट जाँच्नुपर्छ। यदि छैन भने बिरामीलाई पसिना आउने, थकाइ लाग्ने, कमजोरी हुने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, नारी छाम्दा नभेटाउने जस्तो लक्षण देखिए प्रेसर घटेको बुझ्न सकिन्छ। सामान्य लो प्रेसर छ भने नुनिलो खानेकुरा जे उपलब्ध छ दिनुपर्छ। दाल, तरकारीको झोल, नुनपानी आदि दिन सकिन्छ। बिरामी सहज भएपछि उपचारको लागि अस्पताल पुर्याउनुपर्छ। रक्तचाप स्वाभाविवक कारणले घटेको छ भने मान्छेको ज्यान जाने जोखिम हुँदैन।

रक्तचाप ८०/४० वा ७०/५० वा ६० छ भने पनि आत्तिनु पर्दैन। तर रक्तचाप एकदमै कम भयो भने मान्छे बेहोस हुनसक्छ। त्यस्तो व्यक्तिलाई अर्धचेत अवस्थामा जीवनजल अथवा नुनपानी वा केही पनि खुवाउनु हुँदैन। जब व्यक्ति अलिकति सामान्य हुन्छ अनि देब्रेतिर पारेर पानी वा नुनिलो झोल दिन सकिन्छ।

व्यक्ति ढलेको अवस्थामा छ भने पहिले उसको खुट्टालाई माथि उचाल्नुपर्छ जसले गर्दा उसको मष्तिष्कसम्म ब्लड सर्कुलेशन पुगोस्। रक्तचाप कम भएर अचेत भएको व्यक्तिलाई उठाउने कोसिस गर्नु हुँदैन बरु शिरानी झिकिदिनु पर्छ अनि चिसो वातावरण बनाउने कोसिस गर्नुपर्छ। ढलेका व्यक्तिलाई उठाउँदा वा शिर माथि उचाल्दा मष्तिष्कसम्म ब्लड सर्कुलेशन पुग्दैन र झन् समस्या बढ्न सक्छ।

प्रायः गर्मीमा, बसमा यात्रा गर्दा, व्रत बसेको बेला, डाइरिया र ज्वरो आएको बेला तथा प्रेसरको औषधि बढी खाएमा व्यक्तिको रक्तचाप घट्छ। त्यस्तो व्यक्तिलाई हामीले चिसो र सहज वातावरण बनाइदिनु पर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖