• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप लीग–२ शृङ्खलामा आज नेपालले बलियो नामिबियाको सामना गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ ।

त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ को यो दोस्रो संस्करण हो ।

लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।

लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।

यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।

घरेलु मैदानमा आयोजना हुने लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

क्यानले घोषणा गरेको टोलीमा यू–१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ । लिग–२ शृङ्खलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन ।

यसअघि उनीहरु वैकल्पिक खेलाडी थिए । तर, हालै सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल र देवलाई पनि लिग–२ टोलीमा स्थान दिइएको हो ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा अनिलले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए । उक्त शृङ्खलाको दोस्रो खेलमा देवले पनि उत्कृष्ट अर्धशतकीय पाली खेल्दै ७६ रन बनाएका थिए ।

लिग–२ शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

बिहीबार हुने नामिबियाविरुद्धको खेलमा प्रभावशाली अलराउन्डर दीपेन्द्र ऐरी भने सहभागी नहुने सम्भावना प्रबल छ । उनी हाल संयुक्त अरब इमिरेट्स (यूएई) को फ्रेन्चाइज क्रिकेट खेल्दै छन् ।

उक्त फ्रेन्चाइज लिगमा दीपेन्द्र गल्फ जायन्टमा आबद्ध छन् । गल्फ जायन्टसले बुधबार राति नै क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छ । त्यसैले नामिबियाविरुद्ध दीपेन्द्रले खेल्ने सम्भावना निकै कम छ ।

नेपालले यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप खेल्दै छ । त्यसैको अनुभवका लागि क्यानले दीपेन्द्रलाई युएईमा फ्रेन्चाइज प्रतियोगिता खेल्ने अनुमति दिएको हो ।

युएईमा जारी टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि विश्वस्तरीय खेलाडीको सहभागिता रहेको छ । त्यसैले दीपेन्द्रले यो प्रतियोगिता खेल्दा टी–२० विश्वकपको तयारीमा पनि सहयोग पुग्नेछ ।

नामिबिया र नेदरल्यान्ड्सविरुद्धको लिग–२ शृंखलालगत्तै नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि यी दुई राष्ट्रसँग टी–२० शृङ्खला पनि खेल्ने कार्यक्रम रहेको छ ।

यसैबिच, नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ सँगै सन् २०२७ सम्म खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको तालिका पनि आईसीसीले सार्वजनिक गरिसकेको छ ।

आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार लिग–२ प्रतियोगितामा सहभागी आठ टोलीमध्ये नेपालले क्यानडामा मात्र शृङ्खला खेल्ने छैन । अन्य ६ टोलीले भने नेपालमा शृङ्खला खेल्नेछन् । लिग–२ शृङ्खलाका क्रममा नेपाली टोलीले नामिबियाको भने भ्रमण गर्ने छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖